Fri. Apr 26th, 2024

कैलालीमा असई गोविन्द विकको हत्या, ११ जना शंकास्पद पक्राउ

कैलाली, २०७७ कात्तिक २ गते आईतबार

कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या भएको छ । आइतबार बिहान मोहना नदीमा फ्याँकेको अवस्थामा उहाँको शव भेटिएको हो ।

विकले दुई दिनअघि मात्रै सीमा क्षेत्रबाट अवैध सुर्ती बरामद गर्नुभएको थियो । नेपाल-भारत सीमामा हेर्ने यो बिटमा विकले नेतृत्व सम्हालेको पनि धेरै भएको थिएन ।

शनिबार बेलुकी बिक प्रहरी जवान रामबहादुर साउदलाई लिएर बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्कनु भएको थियो । त्यसक्रममा तस्कर समूहले उहाँको योजनाबद्ध रुपमा घाँटी रेटेर हत्या गरेको छ । विकको शव भेटिए पनि प्रहरी जवान साउद अझै भेटिनु भएको छैन । नदीमा उहाँको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोर टोली परिचालित भएको छ, नेपाल प्रहरीको टोली पनि खोजीमा खटिएको छ ।

२०७४ सालमा दिपालयस्थित प्रहरी तालिम केन्द्रबाट असईमा सेवा प्रवेश गर्नुभएका बिक कैलाली बहुमुखी क्याम्पसमा हालै स्नातकोत्तर तहमा समेत भर्ना हुनुभएको थियो । २८ वर्षीय उहाँ प्रहरी निरीक्षकमा प्रतिष्पर्धा गरेर काँधमा खुकुरी चिह्न भिरेर देशको सेवा गर्ने तयारीमा लाग्नु भएको थियो । तर दुर्भाग्य वहाँ आफै मारिनु भयो ।

यसैबीत असई गोविन्द विकको हत्या प्रकरणमा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु छन् । अनुसन्धान प्रारम्भिक चरणमा रहेकाले पक्राउ पर्नेको नाम खुलाइएको छैन ।

 

Facebook Comments