Sat. Jul 27th, 2024

चिनियाँ प्रधानमन्त्री लीको रात्रीभोजमा नेपाली राजदूत पाण्डे सहभागी

प्रधानमन्त्री ली खछ्याङ

काठमाडौं, २०७७ असोज १५ गते बिहीबार

चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे बुधबार चिनियाँ प्रधानमन्त्री ली खछ्याङले आयोजना गरेको राष्ट्रिय दिवसको रात्रीभोजमा सरिक हुनुभएको छ। नयाँ चीन स्थापनाको ७१औं वार्षिकोत्सव अर्थात् राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा चिनियाँ प्रधानमन्त्री लीले बेइजिङस्थित कूटनीतिज्ञहरूका लागि रात्रीभोजको आयोजना गर्नुभएको थियो।

राजदूत पाण्डेका अनुसार ग्रेट हल अफ द पिपुल्समा प्रधानमन्त्री लीले आयोजना गरेको रात्रीभोजमा राष्ट्रपति सी चिनफिङ समेत सहभागी हुनुहुन्थ्यो। चीनको राष्ट्रिय दिवसमा चीनले विदेशी कूटनीतिज्ञहरूलाई बोलाएर शुभकामना आदानप्रदान गर्ने गरेको छ। यस पटकको कार्यक्रममा ५०० भन्दा बढी अतिथिहरू सहभागी भएको चिनियाँ संचारमाध्यमहरूले लेखेका छन्।

सीआरआईका अनुसार सहभागीहरूलाई संवोधन गर्दै प्रधानमन्त्री लीले चिनियाँ इतिहासमा यो वर्ष निकै चुनौतीपूर्ण र अप्रत्यासित रहेको बताउनुभयो। एकाएक देखापरेको कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा गम्भीर आघात पर्नु, महामारी नियन्त्रणका लागि विश्वका देशबीच सहकार्य हुनु, हाल चीनले कोरोना महामारीलाई परास्त गर्दै जानु तथा यसै वर्ष चीनले गरिबी निवारण गर्नुपर्ने चुनौती पूरा गर्नु लगायतका महत्वपूर्ण कार्यभार रहेको उहाँको भनाइ थियो।

चीनले घरेलु मामिलालाई कायम राख्दै सुधार तथा पुनःसंरचनालाई गहन पार्दै खुलापनलाई बढाउँदै जाने प्रधानमन्त्री लीले बताउनुभयो। चीनमा अक्टोवर १ तारिख राष्ट्रिय दिवस मनाइन्छ भने यसवर्ष मध्यशरद पर्व पनि खप्टिएको छ। ८ दिने बिदाका कारण चिनियाँ जनजीवन चलायमान भएको छ।

Facebook Comments