Mon. May 20th, 2024

नेपाल-चीन व्यापार संयुक्त कार्यदलको पहिलाे बैठक सम्पन्नः तातोपानी र केरुङ नाका सुचारु गर्न दुबै पक्ष सहमत

काठमाडौं, २०७७ असोज १३ गते मंगलबार

चीनसँगको तातोपानी र रसुवागढी नाका सुचारु गर्न दुबै देश सहमत भएका छन् । नेपाल–चीन व्यापार संयुक्त कार्यदलको आज मंगलबार भएको पहिलो बैठकमा दुबै नाका कोभिड-१९को संक्रमणबाट बच्ने सबै उपायहरु अपनाई सुचारु गर्ने विषयमा सहमति भएको हो ।

दुबै देशका तर्फबाट ११/११ जना प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा नेपालमा चिनियाँ लगानी अभिवृद्धि गर्ने विषयमा समेत सकारात्मकरुपमा छलफल भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनको तर्फबाट त्यहाँका वाणिज्य मन्त्रालयको एशिया मामिला विभागका महानिर्देशक फङ्ग काङ्नले नेतृत्व गरेका थिए ।

छलफलका क्रममा दुवै पक्षले राखेका विषयवस्तुहरु सहजरुपमा कार्यान्वयन गर्नको लागि कूटनीतिक माध्यमबाट नोट आदानप्रदान गर्ने निर्णय भएको छ । त्यसैगरि नेपाल र चीनबीच पारवहन-ढुवानी सम्झौताको कार्यान्वयनका लागि दुवै पक्षबाट आवश्यक पहल गर्न धारणा आदान-प्रदान गरिएको पनि मन्त्रालयकी सहायक प्रवक्ता उर्मिला के.शी.द्वारा जारी विज्ञप्तिमा जनाइएको छ । नेपाल समाज अनलाईनबाट

बैठकमा छलफल भएका विषयहरु जस्तकाे तस्तैः

१. पारवहन ढुवानी सम्झौता, २०१६ र यसको प्रोटोकल, २०१९ को कार्यान्वयनको विषय ।
२. व्यापार सहजीकरणः

  • रसुवाको टिमुरे स्थित सीमा जाँच स्टेसनरसुख्खा बन्दरगाह निर्माणकार्य ।
  • १८८ वटा वनस्पति, मासुजन्य र अन्य खाद्यपदार्थको चीनको भन्सार प्रशासनमा नेपालबाट आयात हुने वस्तुको सूचिमा सूचिकृत गर्ने विषय ।
  • नेपालमा वनस्पति र पशुजन्य वस्तुहरुको जाँच गर्न प्रयोगशाला स्थापना गर्ने विषय ।
  • नेपालबाट जनवादी गणतन्त्र चीन निकासी गरिने खाद्यवस्तुहरुमा लेवलिङ्गसम्बन्धी विषय ।
  • नेपालमा चिनियाँ लगानी र व्यापारको लागि वातावरण विकास ।
  • स्याफ्रुबेंसी(रसुवा सडक मर्मत सम्भार र स्तरोन्नती ।

३. नेपाल-चीन सीमानजिक सीमावारपार आर्थिक क्षेत्र स्थापना सम्बन्धी विषय ।
४. व्यापार पूर्वाधार विकासमा सहयोग सम्बन्धी विषय ।

  • नेपाल र चीनबीचका तातोपानी र रसुवागढी अन्तर्राष्ट्रिय नाकाहरु सुचारु गर्ने सम्वन्धमा ।
  • मुस्ताङ्गको कोराला नाकामा एकीकृत सीमा जाँच स्टेसन निर्माणको लागि चिनियाँ पक्षलाई अनुरोध ।
  • नेपाल चीनबीचको दुईपक्षीय सीमाविन्दू ओलाङ्चुङ्गोला र किमाथाङ्कामा व्यापार पूर्वाधारको लागि संयुक्तरुपमा सम्भाव्यता अध्ययन गर्ने विषय ।

५. अन्य विषयहरुः
सत्रौं नेपाल-चीन आर्थिक व्यापार मेला र चीनमा आयोजना हुने तेस्राे अन्तर्राष्ट्रिय आयात प्रदर्शनी मेलामा सहभागिता ।

मितिः २०७७/०६/१३

उर्मिला के.सी.
सहायक प्रवक्ता

Facebook Comments