उपराष्ट्रपति यादवद्वारा पानी संरक्षणमा जोड

काठमाण्डू, २०८१ चैत ९ गते शनिबार । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले समस्त जीवन र जगतको अस्तित्व रक्षा गर्ने प्रकृति प्रदत्त वरदान पानीको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ ।
उहाँले विश्व पानी दिवस, २०२५ (२२ मार्च)को अवसरमा शुभकामना व्यक्त गर्दै भावी पुस्ताहरुको सुरक्षित र समृद्ध जीवनका लागि पानीको संरक्षण जरुरी रहेको उल्लेख गर्नुभएको छ ।
“पानी बिना जीवनको कल्पनासम्म गर्न सकिन्न । पानीको संरक्षण र यसको समुचित उपयोगका लागि सक्दो प्रयास र सार्थक पहल गर्दै भावी पिँढीका लागि सुरक्षित र स्वच्छ पानी उपलब्ध गराउन एकजुट भई अग्रसर हुन आवश्यक छ,” उहाँले भन्नुभएको छ ।
सन् १९९३ यता हरेक वर्ष २२ मार्चमा मनाइने यो दिवस सुरक्षित तथा स्वच्छ पानीको महत्वमा केन्द्रित संयुक्त राष्ट्रसङ्घको विश्वव्यापी पहल हो । सुरक्षित र स्वच्छ पानी व्यवस्थापनका लागि आवश्यक रणनीतिसहितको कदम चाल्न र यसबारे जनचेतना अभिवृद्धि गर्न यो दिवसले सहयोग पुग्दछ ।
सन् २०२५ मा यो दिवसको नारा ‘ग्लेसियर प्रिजर्भेसन (हिमनदी संरक्षण)’ रहेको छ ।
उपराष्टपति यादवले बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न हुने बताउनुभएको छ । त्यसैगरी, पानीको कमजोर व्यवस्थापन, प्रदूषण, अपर्याप्त संरचना, सरोकारवालाको सहभागितामा कमी, माटो क्षयीकरणलगायतले पनि पानीको सङ्कट गहिरिँदै गएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ, “पानीको अपर्याप्तताले पारिस्थितिक प्रणालीलाई अवरोध सिर्जना गर्दै खाद्य र पानी सुरक्षालाई सङ्कटमा पार्न सक्ने छ, नेपालमा पानीको स्रोतको स्तर तीव्र रूपमा घट्दो छ ।” रासस