Sat. Jul 27th, 2024

चौविस घण्टामा थप एक हजार ५७३ जना सङ्क्रमित, कुल ७३ हजार ३९४ पुग्यो

- प्रदेश १ मा हालसम्मकै धेरैमा कोरोना संक्रमण

काठमाडौं, २०७७ असोज ११ गते आईतबार

नेपालमा कोभिड-१९ का एक हजार ५७३ जना सङ्क्रमित थपिएका छन् ।  मन्त्रालयले नियमित प्रेस ब्रिफिङ्को क्रममा पछिल्लो चौबीस घण्टामा १० हजार १२३ वटा नमूना परीक्षण गरिएको बताइएकाे हो । योसँगै नेपालमा नौ लाख ८८ हजार ३२७ वटा आरटी पीसीआर परीक्षण भएको छ । थपिएका नयाँ सङ्क्रमितसँगै कुल सङ्क्रमित ७३ हजार ३९४ पुगेको छ ।

गोरखापत्र अनलाईनका अनुसार चौबीस घण्टामा ८८५ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । यससँगै निको भएकाको सङ्ख्या ५३ हजार ८९८ पुगेको छ । कोरोना सङ्क्रमणमुक्त हुने दर ७३.४४ प्रतिशत पुगेकाे छ ।

आइसोलेसनमा र सकृय सङ्क्रमित १९ हजार १९ पुगेको छ । क्वारेन्टिनमा छ हजार २८१ जना छन् ।

दश जनाकाे मृत्यु

पछिल्लो चौबीस घण्टामा दश जनाकाे मृत्यु भएकाे छ । याेसँगै नेपालमा कुल मृत्यु हुने काेराेना सङ्क्रमितकाे सङ्ख्या ४७७ पुगेकाे छ ।

भेन्टिलेटरमा ३३ जनाकाे उपचार भइरहेकाे छ । यस्तै, २२५ जना आइसीयूमा रहेर उपचार गराइरहनुभएकाे छ ।

प्रदेश १ मा हालसम्मकै धेरैमा कोरोना संक्रमण

अन्नपूर्ण पोष्ट दैनिक अनलाईनले प्रदेश १ मा हालसम्मकै धेरैमा कोरोना संक्रमण भएको समाचार लेखेको छ ।

अन्नपूर्ण पोष्ट लेख्छ प्रदेश १ मा आइतबार अहिलेसम्मकै धेरै एक सय ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो संख्या दैनिक थपिने संक्रमितको तुलनामा अहिलेसम्मकै उच्च हो।

प्रदेश १ मा नौ सय ६७ जनाको पीसीआर परीक्षण हुँदा ६५ महिला र एक सय १६ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका एक सय ६७ जना छन्। मोरङको पनि प्रदेश राजधानी विराटनगरका एक सय ३० जना छन्। विराटनगरमा ५१ महिला र ७९ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा एकै दिन संक्रमण देखिएको संख्या पनि अहिलेसम्मकै धेरै हो। मोरङबाहेक सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश १ बाहिरका एक-एक जनामा कोरोना देखिएको छ। विराटनगरबाहेक मोरङको कटहरीमा आठ महिला, नौ पुरुष, बुढीगंगामा तीन महिला, ११ पुरुष, जहदा र धनपालथानमा दुई–दुई पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका एक–एक  पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

सुनसरीको दुहवीमा एक महिला, चार पुरुष, धरान र इटहरीमा एक-एक पुरुष, झापाको बिर्तामोडमा एक महिला, अर्जुनधारा र दमकमा एक–एक पुरुष, भोजपुरको स्थानीय तह नखुलेका एक महिला, एक पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष र प्रदेश १ बाहिरका एक पुरुषमा कोरोना पुष्टि भएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या छ हजार चार सय ३६ पुगेको छ। हालसम्म एक लाख २० हजार नौ सय ९० जनाको पीसीआर परीक्षण हुँदा एक लाख १४ हजार पाँच सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा संक्रमण पुष्टि भएर उपचार गराएका मध्ये ३६ जना आइतबार डिस्चार्ज भएका छन्। इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन र मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या दुई हजार आठ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।

Facebook Comments