एकीकृत समाजवादीद्वारा स्थायी कमिटी बैठक आह्वान

काठमाण्डू, २०८१ चैत ३ गते आइतबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले स्थायी कमिटीको आकस्मिक बैठक यही चैत ४ गते काठमाडौँमा आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो २ बजे बोलाइएको उक्त बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको पक्षमा जनमत सिर्जना गर्ने, यही चैत १५ गते समाजवादी मोर्चाको आयोजनामा काठमाडौँमा हुने बृहत् ¥याली तथा विशाल आमसभालाई सफल बनाउन कार्ययोजना तयार गर्नेलगायत विषयमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिनुभयो ।
काठमाडौँ उपत्यकामा उपलब्ध स्थायी कमिटी सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिइएको छ भने उपत्यकाबाहिर रहेका नेतालाई फर्कन आह्वान गरिएको छ । बैठकमा पार्टीले सुशासन, रोजगारीलगायत विषयलाई केन्द्रित गरी देशभर सुरु गरिएको समाजवादी अभियानबारे मातहत कमिटीलाई सङ्गठन सुदृढीकरण तथा पार्टीलाई सक्षम, सबल र विश्वसनीय बनाउन रणनीति तयार गरिने जनाइएको छ ।
आगामी वैशाख २२ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा वडा, गाउँ, प्रदेश र केन्द्रमा छलफल गर्न लागिएको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिनुभयो । बैठकमा राजनीतिक अस्थिरता र अन्योलका कारण जनतामा आएको असन्तुष्टिलाई न्यूनीकरण गर्न जनपरिचालन तथा आन्दोलनका कार्यक्रमहरू अनुमोदन गरिने सो पार्टीले जनाएको छ ।
Facebook Comments