Fri. Apr 26th, 2024

स्वास्थ्य मन्त्रालय भन्छ: ‘सक्रिय सङ्क्रमित २५ हजार नाघे पुनः बन्दाबन्दी’

काठमाडौं, २०७७ असोज ८ गते बिहीबार

कोरोना भाइरस (कोभिड-१९)का सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय सङ्क्रमित नाघे पुनः बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको हो । अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार हाराहारी मात्र छ ।

गोरखापत्र अनलाईनका अनुसार मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले इन्सिडेन्ट कमान्ड सिस्टम (आईसीएस)को बैठकले सक्रिय सङ्क्रमित २५ हजार नाघेको अवस्थामा पुनः लकडाउन गर्नसक्ने निर्णय गरेको जानकारी दिनुभयो । बुधबार नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ४१४ छ । प्रवक्ता गौतमले २५ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेको खण्डमा नेपालको हालको स्वास्थ्य संयन्त्रले सङ्क्रमण नियन्त्रण गर्न समस्या हुनसक्ने भन्दै पुनः बन्दाबन्दी गर्ने निर्णय गरेको बत(ाउनुभयो । बैठकले पछिल्लो समय सङ्क्रमण दर बढ्नुका साथै जोखिम उच्च रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना हुन नसक्ने खालका सबै सेवा र व्यवसाय कम्तीमा एक महिना नखोल्न सिफारिस गर्ने निर्णय गरेको छ ।

थप एक हजार १७२ जनामा सङ्क्रमण

नेपालमा बुधबार थप एक हजार १७२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै बुधबार नेपालमा थप सात जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । प्रवक्ता गौतमले देशभर पाँच जिल्लाका एक महिला र छ पुरुष गरी सात जनाको कोरोनाबाट मृत्यु भएको जानकारी दिनुभयो ।

Facebook Comments