Fri. Apr 26th, 2024

चीनकै भूभागमा भवन बनेको हो, नेपालले फेरि प्रमाणीकरण गर्न सक्छ : चिनियाँ दूतावास

- ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ ।’

चीनले भवनहरू बनाएको ललुङजोङ क्षेत्र । तस्बिर सौजन्य : विष्णुबहादुर लामा

काठमाडौं, २०७७ असोज ७ गते बुधबार

केही दिनयता नेपाली सञ्चार माध्यमहरुमा चिनियाँ पक्षले हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रको नेपाली भूभागमा भवन निर्माण गरेको समाचारलाई लिएर काठमाडौंस्थित चिनियाँ दूतावासले मंगलबार राति खण्डन जारी गरेको छ ।

चिनियाँ दूतावासका प्रवक्ता वाङ सीयओलङले आफ्नो आधिकारिक भनाई सार्वजनिक गर्दै चीन-नेपाल सीमा क्षेत्रमा बनेको भवन चीनकै भूभागमा रहेको प्रमाणित भएको दाबी गरेका छन् । ‘नेपाली पक्षले फेरि प्रमाणीकरण गर्न सक्छ,’ प्रवक्ता वाङले भनेका छन् । उनले चीन र नेपाल नजिकको छिमेकी रहेको बताएका छन् । ‘चीनले सधैं नेपालको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई सम्मान गरेको छ,’ उनले भनेका छन् ।

केही दिनयता नेपाली मिडियाले हुम्लास्थित नेपाल-चीन सीमा क्षेत्रमा चिनियाँ पक्षले बनाएको भवन नेपालको नाम्खा गाउँपालिकामा पर्ने समाचार प्रकाशन गरेका थिए । लगत्तै सीमाको वास्तविक रुपमा स्थलगत अध्ययन गर्न हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एक टोली गएको थियो ।

उक्त टोलीले स्थलगत अध्ययन गरेपछि केन्द्रमा रिपोर्ट पठाएको छ । तर उक्त सीमा सम्बन्धमा नेपाल सरकारले हालसम्म कुनै प्रक्रिया दिएको छैन । सम्बन्धित मन्त्रालयहरु गृह, परराष्ट्र र भूमि व्यवस्था मन्त्रालयले यस बारेमा केही पनि बोलेका छैनन् ।

चिनियाँ दूतावासका प्रवक्ता वाङले चीन र नेपालको कुनै पनि भूभाग सम्बन्धमा विवाद नभएको उल्लेख गर्दै दुवै पक्षले जहिले पनि सीमा मामिलामा संवाद गर्न सक्ने बताएका छन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments