Wed. Mar 19th, 2025 12:27:19

केरुङ काठमाडौँ रेलमार्गको फिल्ड सर्वेको काम चीनले गर्ने नेपाली अधिकारीको भनाइ

काठमाडौं, २०७७ असोज ७ गते बुधबार

चीनबाट नेपाल आउने रेलमार्ग अन्तर्गत चीनतर्फको फिल्ड सर्वे सकिएको छ। सिगात्सेसम्म रेलको पहुँच रहेको र त्यसयता केरुङसम्मको ५ सय किलोमिटर दुरीको फिल्ड सर्वे केही दिनअघि चीनले सकेको नेपाल खबर अनलाइनले लेखेको छ।

नेपालको रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार चीनतर्फको भूभागको काम सकिएको छ। अब नेपालतर्फको करिब ७२ किलोमिटरको फिल्ड सर्वे गर्ने काम बाँकी छ। यो काम पनि चीनले नै गर्ने उहाँको भनाइ छ।’यो समयसम्म दुवैतर्फको फिल्ड सर्वे सकिन्थ्यो होला तर कोरोनाको कारणले गर्दा दुई देशबीच आवतजावत नै हुन पाएन र काम रोकियो,’ उहाँले भन्नुभयो। नेपालतर्फ रेलमार्ग निर्माण गर्न चीनले धेरै चासो देखाएको मिश्रले बताउनुभयो।

‘कोरोना संक्रमणको अवस्थामा पनि उनीहरुले आफ्नो भूभागको फिल्ड सर्वे सकेका छन्। सिगात्सेसम्म रेलमार्ग विस्तार भइसकेको छ। अब केरुङसम्म ल्याउन उनीहरुले जोड लगाइरहेका छन्,’ उहाँले भन्नुभयो, ‘नेपालसँग रेलमार्ग जोड्न हामीभन्दा उनीहरु आतुर भएर काम गरिरहेका छन्।’गत वर्ष चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नेपाल आउनु भएको समयमा चीन–नेपाल सीमापार रेल्वे परियोजनाको सम्भाव्यता अध्ययनबारे नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र चीनको यातायात मन्त्रालयबीच एमओयू भएको थियो। त्यसपछि दुई देशबीचको बैठकले चीनले विस्तृत सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको भएको थियो। त्यसैअनुसार चीनको यातायात मन्त्रालयले फिल्ड सर्वे गरिरहेको छ।

Facebook Comments