Fri. Apr 26th, 2024

काठमाडौबाट चीनको छन्तु पुगेका चार यात्रुमा कोरोना संक्रमण

काठमाडौं, २०७७ असोज ६ गते मंगलबार

नेपालबाट पछिल्लो पटक चीन गएका चार हवाई यात्रुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा दुई जना नेपाली र दुई चिनियाँ छन् ।

चिनियाँ भाषाको अनलाईन नेपाल एक्सप्रेस (निपोअर ख्वाइस्युन)का अनुसार संक्रमित सबैले यही १७ तारिखका दिन काठमाडौँमा पीसीआर परीक्षण गराएका थिए । नेपालमा उनीहरुको परीक्षण रिपार्ट नेगेटिभ आएको थियो । चीनमा हरेक दिनको परीक्षण रिपोर्ट भोलिपल्ट सार्वजनिक गरिने हुनाले उनीहरुको संक्रमण तथा यात्रा विवरणसम्बन्धी जानकारी आज मात्रै सार्वजनिक भएको हो ।

संक्रमितमध्ये ६३ वर्षीय चिनियाँ महिला गत वर्ष अक्टोबर महिनामा आफन्त भेट्न नेपाल आएकी थिइन् भने लामो समयदेखि ल्हासामा बस्दै आएका ६८ वर्षीय र ४१ वर्षीय दुई नेपाली संक्रमित पनि सोही समयमा नेपाल आएका थिए । फुचियन प्रान्तका अर्का ३२ वर्षीय पुरुष भने पर्यटकको रुपमा ६ महिनाअगाडि मात्रै नेपाल आएका थिए ।

एअर चाइनाको नियमित उडान “सीए४३८” बाट आइतबार साँझ छन्तु पुगेका उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य थियो । विमानस्थलबाट होटलको क्वारेन्टिनमा राखिएका उनीहरुको सोमबार पीसीआर परीक्षण गरिएको थियो । संक्रमणको पुष्टि हुनेबित्तिकै चारैलाई विशेष अस्पतालमा भर्ना गरिएको छ । एउटै विमानमा चीन पुगेकामध्ये उनीहरुसँग सम्पर्कमा रहेका अन्य चार यात्रुलाई पनि छुट्टै आइसोलेसनमा राखिएको बताइएको छ ।

नेपाल एक्सप्रेसमा दिइएकाे संक्रमित यात्रुकाे विवरण

नेपालबाट चीन जाने हरेक जसो उडानमा एक, दुई जना संक्रमित फेला पर्ने गरे पनि एउटै विमानमा पहिलो पटक यति धेरै संक्रमित भेटिएको नेपाल एक्सप्रेसले जनाएको छ । एउटै उडानमा चीन पुगेका यात्रुमध्ये पाँच जनाभन्दा बढीलाई कोरोना संक्रमणको पुष्टि भए उक्त देशसँगको उडान बिच्छेद गर्नसक्ने नियम त्यहाँको सरकारले बनाएको छ । उक्त उडानमा अर्काे एक जना संक्रमित भेटिएको भए चीनले नेपालसँगको नियमित उडान तत्कालका लागि स्थगित गर्ने सम्भावना थियो ।

लकडाउन हटेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेपछि चीनबाट एअर चाइनाले छन्तु तथा चाइना साउदर्नले क्वाङ्चौ (ग्वानझाउ)बाट काठमाडौँसम्म सातामा एकएक नियमित उडान गर्दै आइरहेका छन् भने नेपालबाट हिमालय एअरलाइन्सले हप्तामा एक उडान चीनको छोङ्गछिङ्गमा गर्दै आएको छ ।

चीन जाने हरेक उडानमा कोरोना संक्रमित भेटिएपछि नेपालको पीसीआर परीक्षणको गुणस्तरमाथि प्रश्नचिन्ह खडा भएको छ । यद्यपि चीन सरकारले छानेरै उपत्यकाका हेम्स, स्टार र केएमसी मेडिकल कलेज सिनामंगल गरी तीन वटा निजी अस्पतालको पीसीआर रिपार्टलाई मात्रै मान्यता दिएको छ । काठमाडौंस्थित चिनियाँ राजदूताबासले हवाईमार्गबाट चीन जाने यात्रुहरुलाई अनिवार्यरुपमा ती तीनमध्ये कुनै एकको ७२ घण्टाभित्रको पीसीआर रिपोर्ट पेश गर्न भन्दै आएको छ ।

यसअघि पनि नियमित उडानबाट छन्तु पुगेका तीन यात्रुमा पनि त्यहाँ पुगेपछि संक्रमण पुष्टि भएको थियो भनि नेपाल समाज अनलाईनले समाचार लेखेको छ ।

Facebook Comments