Thu. Apr 25th, 2024

वीर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित कैदीको घटना के हो ?

काठमाडौं, २०७७ असोज ६ गते मंगलबार

अस्पताल भन्छ, ‘फ्रिज बाहिर शव रहँदा बिग्रिएको हो’
कारागार भन्छ, ‘अस्पताल लैजाँदाको सिसिटिभी फुटेज सबै देखाउन तयार छौं’
खुलामञ्चमा भोकाहरुलाई निःशुल्क खाना खुवाईरहेको ‘हन्ड्रेड समूह’मा सक्रिय बब्लु गुप्ताले मंगलबार करिब साढे दस बजेतिर वीर अस्पताल अघिबाट फेसबुकमा लाइभ सुरु गरे । उनको लाइभमा बुटवल घर बताउने एक महिला, उनकी छोरी र अन्य आफन्तहरुको आक्रोश र रोदन कैद भइरहेको थियो ।
बुटवल घर बताउने महिलाले सात वर्षदेखि केन्द्रिय कारागारमा थुनामा रहेका श्रीमान बिरामी भएको भन्ने खबर गत शनिबार पाएपछि आफूहरु काठमाडौं आएको बताइरहेकी थिइन् । तर, आफूहरु आएपछि श्रीमान रामलखन जैसवालको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको खबर पाएको बताइन् ।

सोही भिडियो लाइभमा रामकी छोरीले उनीहरुलाई मृतकको शव हेर्न नदिएपछि जबरजस्ती झ्यालबाट घोचो छिराएर शव ढाकिएको कपडा हटाएर भिडियो खिचेको र उक्त भिडियोमा प्रष्टसँग बाबुको हत्या गरिएको प्रमाणहरु देखिएको दाबी गरिरहेकी थिइन् । छोरीसँगै देखिएका एक वयस्क व्यक्तिले मृतकको दुवै आँखा निकालिएको, घाँटी र हातमा पोलेको दाग देखिएकाले हत्याको घटना लुकाउन अस्पताल र जेल प्रशासनले कोरोनाको बहाना बनाएको बताइरहेका देखिन्छन् ।

यो समाचार तयार पर्दासम्म बब्लुको यो फेसबुक लाइभ ७ घन्टामै ४ हजार ७ सय पटक सेयर भएको देखिन्छ भने त्यसमा १ हजार ३ सयले कमेन्ट गरेको देखिन्छ । बब्लुले गरेको लाइभलाई अन्य कैयौं फेसबुक पेजले पनि सेयर गरेका छन् । लाइभ भिडियोको फुटेज काटेर दर्जनौंले टिकटकमा हालेका छन् । जसमध्ये मंगलबार साँझसम्म यो घटनाबारे विक्रम श्रेष्ठको टिकटक अकाउन्टबाट तीन फरक फरक भिडियो पोस्ट भएको देखिन्छ । जसमध्ये पहिलो भिडियो ८८ हजार २ जनाले हेरेका छन् भने त्यसमा ७ हजार २ सय ८४ ले लभ रियाक्ट, ८ सय ६९ ले शेयर र २ सय ६९ वटा कमेन्टहरु आएका छन् ।

रामलखन जैसवालको मृत्यु षड्यन्त्रपुर्वक भएको, परिवारलाई गुमराहमा राख्न खोजिएको र हत्यापछि भएको मृत्यु लुकाउन कोरोना भनिएको भन्ने खालका अन्य दर्जनौं भिडियो सामाग्रीहरु पनि युट्युबमा देखिन्छ । यही घटनाबारे ओटीभी नामक नामक युट्युब च्यानलले ‘ओ माई गड’ भन्दै ‘कोरोना अस्पतालमा जिउँदै मान्छे मारेर आँखा चोरी ! सडकमै छोरी र श्रीमतीको रुवाबासी, तोडफोड’ शीर्षकमा भिडियो सार्वजनिक गरेको छ ।

जसलाई अपलोड गरिएको ५ घण्टामा १६ हजार ७ सयले हेरेका छन् । त्यस्तै अनलाइन हरपल नामक युट्युब च्यानलले यही घटनाको भिडियो ‘वीर हस्पिटलमा घट्यो यस्तो काण्ड, चले रुवाबासी, कोरोनाको नाममा आँखा र किडनीको व्यापार ?’ शीर्षकमा भिडियो पोस्ट गरेको छ । जसलाई अपलोड गरिएको ६ घन्टामा २८ हजारले हेरेका छन् । यही विषयमा योहो टिभी युट्युबले पोष्ट गरेको भिडियो ३ घण्टामा ३० हजारले हेरेका छन् । यो युट्युबले ‘मृतकको आँखा गायब’ भन्ने शीर्षकलाई थम्बनेल बनाएको छ । मंगलबार साँझसम्म यो घटनाबारे दर्जनौं युट्युब च्यानलले सनसनीपूर्ण थम्बनेलसहितको भिडियो बनाएका छन् । जसको लाखौं भ्युअर्स देखिन्छन् ।

लेखक तथा समिक्षक राम लोहनीले पनि मंगलबार दिउँसो फेसबुकमा यो घटनाबारे स्टाटस पोस्ट गरे । उनले परिवारका सदस्यले युट्युबहरुमा लगाएको जस्तै आरोपहरुलाई टिपेर लेखेका छन्, ‘यस्तो गम्भीर घटनामा वीर अस्पतालको संग्लनता भर्त्सनायोग्य छ । आँखा लगायतका भित्री अंगहरुको बेचबिखन पनि हुनसक्ने आशंका गरिएको छ ।’

गिनेचुनेका समिक्षक लोहनीले स्टाटसको अन्तमा स्पष्टीकरण भन्दै घटनासँग सम्बन्धित भिडियोहरु कमेन्टमा रहेको र पत्याउने/नपत्याउने आफैं निर्णय गर्न सकिन्छ भन्दै लेखेका छन्, ‘मेरो पोस्ट पनि त्यही भिडियोमा आधारित हो ।’ लोहनीको यो स्टाटस पोस्ट भएको चार घन्टामै २ सय २२ जनाले सेयर गरेका छन् ।

यो घटनाबारे पहिलो भिडियो लाइभ गरेका बब्लुले आफूहरुले खुलामञ्चमा खाना बाढ्ने बेलामा केही मान्छेले फोन गरेर बोलाएपछि आफू त्यहाँ पुगेको र घटनाबारे प्रहरीलाई खबर गरी लाइभ गरिदिएको बताए । परिवारका मान्छेले रामलखनलाई कुनै पनि रोग नलागेको दाबी गरेको र मृतकलाई कोरोना नै लागेको भएका जेलभीत्रका अरु कैदीलाई किन कोरोना नलागेको भनेर प्रश्न गरेको सुनाए । बब्लुले दिएको मृतकको परिवारका सदस्यको फोनमा बारम्बार प्रयास गर्दा पनि सर्म्पक हुन सकेन ।

केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले कर्तव्य ज्यानको मुद्दामा थुनामा रहेका जैसवाल साढे आठ वर्षयता कारगारमा रहेको बताए । उनले जैसवालको साढे ११ वर्ष कैद भुक्तान बँकी रहेको समयमा शनिबार राति ९ बजेर ४५ मिनेटमा श्वासप्रश्वासमा गाह्रो भएपछि कारागारभित्रैको अस्पतालमा लगिएको बताए । जेलर बाँस्कोटाका अनुसार अस्पतालले थप उपचारका निम्ति सिफारिस गरिएपछि राति नै वीर अस्पताल पुर्‍याएको तर, अस्पतालले राति १० बजेर ५५ मिनेटमा बिरामीको मृत्यु भएको सूचना दिएको जानकारी दिए । उनले मृतक जैसवाल दीर्घरोगी हुनुका साथै पार्किन्सन्सका बिरामी रहेको दाबी गरे । उनका अनुसार जैसवालको मृत्युपछि गरिएको पीसीआर परीक्षणको रिपोर्ट सोमबार राति आएको र त्यसमा मृतकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

बुटवलबाट काठमाडौं आएका परिवारले मृतकको शव देखेपछि त्यसबारे प्रश्न गर्न बिहान आफू कहाँ आएको पनि जेलर बाँस्कोटाले बताए । उनले भने, ‘परिवारका मान्छेले मृत्युबारे शंका गरेपछि मैले जेल भित्रको र अस्पताल लैजाँदाको सबै सीसीटिभी फुटेज झिकाएर हेरें । तर, त्यसमा परिवारका सदस्यले भनेजस्तो केही देखिएन ।’ मृतकका परिवारले शवमा निलडाम देखिएको, आँखा झिकिएको र घाँटीमा दाग भएकाले हत्या भएको शंका आफूसँग व्यक्त गरेको जेलर बाँस्कोटाले बताए ।

उनले आफूले सीसीटिभी फुटेज जुम गरेर हेर्दा पनि अस्पताल लैजाने बेलामा परिवारका सदस्यले भनेजस्तो केही नदेखिएको बताए । उनले परिवारका सदस्यले चाहेको खण्डमा आफूले फुटेज देखाइदिने बताए । जेलर बाँस्कोटाले परिवारका सदस्यको कुरा सुनेपछि आफूले एक प्रहरी पठाएर शव हेर्न लगाएको तर बाहिर भनिएजस्तो घाँटीमा दाग र आँखा निकालिएको अवस्था नरहेको दाबी गरे ।

वीर अस्पतालका निर्देशक केदारप्रसाद सेन्चुरीले भने शनिबार राति ल्याउँदा नै बिरामीको मृत्यु भइसकेको र कोरोना परिक्षणको रिपोर्ट नआउन्जेलका लागि शवलाई अस्पतालको शवघरमा राखिएको बताए । वीर अस्पतालको शव घरमा फ्रिज नभएकाले अस्पतालले बन्द कोठामा शवलाई खुला नै राखेको थियो । कोरोना संक्रमण सुरु हुनुअघिसम्म वीरले मृतकको शव राख्नै पर्ने भए टिचिङ अस्पतालको शव घरको फ्रिजमा राख्न पठाउँथ्यो ।

निर्देशक सेन्चुरीले फ्रिजमा नराखिएका कारण गर्मीले शव केही बिग्रिएको र शव धेरै दिन बाहिर राख्दा आँखा लगायतका भागबाट रगतजस्तो तरल पर्दाथ आउनु असामान्य नभएको जानकारी दिए । ‘मृतकका परिवारको गुनासो आएपछि मैले कर्मचारीलाई शव ओल्टाई पल्टाई गरेर हेर्न पनि पठाए । तर त्यस्तो शंकास्पद केही भेटिएन,’ उनले भने ।

शव पोष्टमार्टमका लागि मंगलबार साँझ टिचिङ अस्पताल लगिएको मृतक रामलखनका भतिजा शिवजैसवालले जानकारी दिएका छन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments