Wed. Apr 17th, 2024

भोलीदेखि आन्तरिक हवाई उडान सुरु हुँदै, बन्दाबन्दी हटेसँगै, विमानस्थलमा उडानको चाप

काठमाडौं, २०७७ असोज ४ गते आईतबार

सोमबारबाट आन्तरिक हवाई उडान सुचारु हुँदैछ। ६ महिनापछि आन्तरिक हवाई उडान खुल्न लागेको हो। सरकारले असोज १ गतेबाट लामो दूरीको यातायात र आन्तरिक हवाई उडान खोल्ने निर्णय गरेको थियो।

५० प्रतिशत यात्रु राखेर मात्र उडान सुचारु गर्न भनिएपछि एयरलाइन्सहरुले सत प्रतिशत यात्रु राख्न पाउनु पर्ने भनेपछि उडान सुरु गर्न ढिला भएको थियो। सुरक्षाका सबै मापदण्ड अपनाएर उडान सुरु गरिएको एयरलाइन्स अपरेटर्स एसोसिएसनले जनाएको छ।

नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका क्रममा पालना गर्नु पर्ने मापदण्ड यस अघि नै जारी गरिसकेको छ छ भनि नागरिक दैनिक अनलाईनले समाचार लेखेको छ ।

यसैबीच गोरखापत्र अनलाईनले  ‘बन्दाबन्दी हटेसँगै, विमानस्थलमा बढ्दै उडानको चाप’ शीर्षका समाचार लेखेको छ । गोरखापत्र लेख्छ: 

बन्दाबन्दीको करिब चार महिनाको अवधिमा पनि मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा चार्टर्ड, कार्गो र उद्धार उडान गरी दैनिक १६ देखि १८ वटासम्म अन्तरराष्ट्रिय उडान भएका थिए । बन्दाबन्दी र निषेधाज्ञाको झण्डै पाँच महिनापछि अहिले निश्चित मापदण्डसहित सीमित सङ्ख्यामा नियमित अन्तरराष्ट्रिय उडान भइरहेको छ । पिसिआर सहज भएका मुलुकबाट नियमित अन्तरराष्ट्रिय उडान, अन्य केही मुलुकबाट चार्टर्ड उडान तथा नेपाली श्रमिक भएका मुलुकबाट उद्धार उडान पनि भइरहेका छन् ।

अहिले अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक २० वटा उडान तथा अवतरण हुने गरेको विमानस्थल कार्यालयले जनाएको छ । यो सङ्ख्या भनेको दैनिक १० एयरलाइन्स आवतजावत हो । कोभिड-१९ महामारीबाट सुरक्षित रहनका लागि स्वास्थ्य प्रोटोकल पालना गर्दै अन्तरराष्ट्रिय उडान भइरहेको छ । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले सातामा जम्मा १०० अन्तरराष्ट्रिय उडान हुन्छन् । एयरलाइन्सले पालैपालो दैनिक १० वटासम्म उडान गर्ने गरेका छन् ।

शुरुमा नेपालका तीनसहित १२ अन्तरराष्ट्रिय उडान भर्ने वायुसेवा कम्पनीले प्राधिकरणबाट अनुमति लिएकामा पछिल्लोपटक सरकारले अन्तरराष्ट्रिय उडान सङ्ख्या बढाउने निर्णय गरेसँगै थप दुई एयरलाइन्सले अन्तरराष्ट्रिय उडानको अमुमति पाएका छन् । भदौ १६ देखि नियमित अन्तरराष्ट्रिय उडान शुरु भएको थियो ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले अहिले नियमित, चार्टर्ड र उद्धार उडानसहित दैनिक १० वटाका दरले आगमन र प्रस्थान दुबै गरी २० उडान सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार यो सङ्ख्या भनेको विगत बन्दाबन्दीको अवधिमा गरिएको उडानकै हाराहारी हो । अहिले जनशक्तिलगायत सबैखाले व्यवस्थापनका हिसाबले दैनिक २० भन्दा बढी उडान सञ्चालन गर्न नसकिने महाप्रवन्धक केसीले बताउनुभयो ।

भोलि सोमबार असोज ५ गतेदेखि आन्तरिक उडान पनि सञ्चालनमा आउने भएपछि अन्तरराष्ट्रिय विमानस्थलको व्यस्तता अझ बढ्नेछ । स्वास्थ्य सावधानी अपनाएर सुरक्षित उडानका लागि जनशक्ति व्यवस्थापनदेखि स्रोतसाधनको उपलब्धतालगायत काममा विमानस्थल निकै व्यस्त हुनेछ । महाप्रबन्धक केसीका अनुसार अहिले भइरहेको अन्तरराष्ट्रिय उडानअन्तर्गत नियमित र चार्टर्ड उडानमा आउने यात्रुको पिसीआर रिपोर्ट नेटेटिभ भएमा सिधै घर वा गन्तव्य जान दिइन्छ । उद्धार उडानबाट आउने यात्रुले होल्डिङ सेन्टरमा जानुपर्ने हुन्छ । यो सबै व्यवस्थापनका लागि विमानस्थललाई निकै हम्मे पर्दै आएको विमानस्थल व्यवस्थापनले जनाएको छ ।

विमानस्थलका अनुसार अहिले सबै प्रकारका उडानमार्फत दैनिक एक हजार २०० देखि एक हजार ५०० सम्म यात्रु नेपाल आएका छन् । यसरी आउने यात्रुको स्वास्थ्य प्रक्रियालगायत व्यवस्थापन गर्नुपर्ने भएकाले विमानस्थलमा चाप बढेको छ । अन्तरराष्ट्रिय विमानस्थल अहिले दैनिक २१ घण्टा सञ्चालनमा छ । अन्तरराष्ट्रिय विमानस्थलमा हाल तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

आन्तरिकतर्फ १० हेलिकोप्टर कम्पनीसहित १९ वटा वायुसेवा प्रदायक कम्पनलीले सेवा सञ्चालन गर्दै आएका छन् । बन्दाबन्दीको छ महिनापछि असोज ५ देखि सञ्चालन हुने आन्तरिक उडानको सम्पूर्ण तयारी पूरा भएको विमानस्थलले जनाएको छ । वायुसेवा प्रदायकले पनि स्वास्थ्य प्रोटोकल पालना गरेर सुरक्षित उडानका लागि सबैखाले तयारी गरिसकेका छन् । शुरुको एक साता सामान्य अवस्थाको २५ प्रतिशत मात्र आन्तरिक उडान हुनेछन् । क्रमशः उडान सङ्ख्या बढाइने नियामक प्राधिकरणले जनाएको छ । सामान्य अवस्थामा आन्तरिकतर्फ ३०० हाराहारी उडान हुने गरेको थियो ।

Facebook Comments