Mon. May 6th, 2024

आज संविधान दिवस, नेपालको संविधान जारी भएको ५ वर्ष पुरा

- विभिन्न कार्यक्रमको आयोजना गरी संविधान दिवस मनाईंदै

काठमाडौं, २०७७ असोज ३ गते शनिबार

नेपालको संविधान जारी भएको ५ वर्ष पुरा भएको छ । संविधान जारी भएपछि राजनीतिक रुपमा पुरा गर्नुपर्ने दायित्वहरु क्रमस कार्यान्वयनमा छन् । कानून र आवश्यक संरचना निर्माणको काम तोकिएको समयमै सम्पन्न भएका छन् । तर संविधानले परिकल्पना गरेको कतिपय संरचना निर्माण नागरिक तहसम्म राज्यबाट पुरा गर्नुपर्ने लाभको वितरण भने अझै बितरण हुन सकेको छैन । कतिपय कानून निर्माण भएपनि नागरिकले अपनत्व गर्ने गरी कार्यान्वयको अभाव छ । कतिपय कानून अनुसारका संरचना पनि निर्माण भएका छैनन् ।

संविधान जारी भएपछि कतिपय काम सम्पन्न गर्ने निश्चित समय तोकिएका थिए अदालतहरुको पुन संरचना मौलिक हकका कानून निर्माण, संविधानसँग बाँझिने ऐन संशोधनको पनि समय तोकिएको थियो । त्यस भन्दा अघि संक्रमणकाल अन्त्य, संघीय संरचना अनुसार तिनै तहको निर्वाचन अनिवार्य थिए । निर्वाचन पछि सबै तहका सरकारहरु क्रियाशिल छन् । संविधान जारीको पृष्ठभूमिमा रहेर केही समय अपनत्वको प्रश्न उठ्यो तर संविधानको पहिलो संशोधन पछि लामो संक्रमण अन्त्यका लागि राजनीतिक दलहरु तयार भए र निर्वाचन भयो । दुई दशक पछि स्थानीय तहमा निर्वाचन भयो । संघीयता कार्यान्वयनका लागि संघ र प्रदेशको निर्वाचन सम्पन्न भए । बैधानिक रुपमा संविधानले परिकल्पना गरे अनुसारको संघीय व्यवस्था कार्यान्वयनमा आएको ।

यसैबीच नेपाल सरकारले सैनिक मञ्च टुँडिखेलमा शनिबार बिहान संविधान दिवसका अवसरमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुनुहुने भएको छ ।

गोरखापत्र अनलाईनका अनुसार २०७२ असोज ३ गते संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटौं वर्ष प्रवेशका अवसरमा यो समारोह आयोजना हुन लागेको हो । यस विशेष समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनुहुनेछ ।

विशेष समारोहमा बिहान ९ः५० बजे प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्नुहुने उहाँका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । यसैगरी नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी छ । यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको महामारीका कारण विशेष समारोहमा भीडभाड गरिने छैन । त्यसैले त्यहाँ मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तित्व पनि सहभागी नहुने जानकारी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ ।

Facebook Comments