Fri. May 3rd, 2024

एमसीसी परिमार्जनसहित संसदबाट अनुमोदन गर्ने नेकपाको निर्णय

काठमाडौं, २०७७ भदौं २६ गते शुक्रबार

सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठकले विकास र सहयोगसम्बन्धी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता परिमार्जनसहित संघीय संसद प्रतिनिधिसभाबाट पारित गर्ने निर्णय गरेको छ ।

स्थायी कमिटीको शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको एमसीसी अध्ययन कार्यदलले दिएको सुझावअनुसार परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेपाल सरकार र एमसीसीबीच सन् २०१७ सेप्टेम्बर १४ मा सम्झौता भएको थियो । एमसीसीको ५० करोड अमेरिकी डलर र नेपाल सरकारको १३ करोड अमेरिकी डलरमा अन्तरदेशीय विद्युत् प्रसारण लाइन र सडक मर्मत परियोजना संचालन गर्नका लागि एमसीसी सम्झौता भएको हो ।

सत्तारुढ नेकपामा सम्झौताका कतिपय बुँदालाई लिएर विवाद हुँदा लामो समयदेखि एमसीसी अनुमोदनको पर्खाइमा संसदमा विचाराधीन रहेको थियो ।

एमसीसी सम्झौता २०७६ असार ३० गते प्रतिनिधिसभामा दर्ता भएको थियो । सम्झौतालाई प्रतिनिधिसभाबाट अनुमोदन गर्न नेपाल सरकार र एमसीसीबीच भएको सहमति अनुसार नै संसदमा दर्ता गरिएको थियो ।

लामो समयदेखि विवादित सम्झौता नेकपाले परिमार्जनसहित अनुमोदन गर्ने निर्णय लिएसँगै कार्यान्वयनमा जाने भएको छ । उक्त सम्झौता संसदको आगामी अधिवेशनबाट पारित हुने भएको हो ।

सम्झौतामा के के विषय संशोधन गर्ने भन्ने विषयमा खनाल नेतृत्वको कार्यदलले सुझाव दिएको छ । उक्त सुझावअनुसार नै एमसीसीमा परिमार्जन गरेर अनुमोदन गर्ने निर्णय लिइएको श्रेष्ठले जानकारी दिएका हुन् । कान्तिपुर अनलाईनबाट

Facebook Comments