Sat. May 4th, 2024

पार्टीभित्रको गुटगत गतिविधि अन्त्य गर्ने नेकपा अध्यक्षद्वयको सङ्कल्प

काठमाडौं, २०७७ भदौं २५ गते बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयले विगतको कमी कमजोरीबाट शिक्षा लिँदै आगामी दिनमा पार्टी एकताको रक्षा एवम् देशको विकास गर्ने सङ्कल्प लिने निर्णय गर्नुभएको छ । शुक्रबार बस्न गइरहेको स्थायी कमिटी बैठकमा पेश गर्न तयार प्रस्तावमा दुई अध्यक्षले सो सङ्कल्प लिने निर्णय गर्नुभएको हो ।

प्रस्तावमा भनिएको छ, “सबै खाले प्रतिकृयावादी तथा अवसरवादी षडयन्त्र तथा दाउपेचहरूलाई चिर्दै पार्टी एकतालाई अक्षुण्ण राख्ने र जनता एवम् राष्ट्रको हितमा समर्पित, निस्वार्थ एवम् सिद्धान्तनिष्ठ एकताको पक्षमा दृढताकासाथ उभिने प्रतिज्ञा गर्दछ ।” पार्टीको शक्ति र सामर्थ्यलाई ठीक ढङ्गले बुझ्न र व्यक्तिगत हितलाई पार्टी हितको मातहत राख्न नसक्दा अन्तरविरोध देखा परेको स्वीकार्दै अध्यक्षद्वयले त्यसले पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको स्वीकार गर्नुभएको छ ।

प्रस्तावमा भनिएको छ, “विभिन्न सन्दर्भमा नेतृत्व तहबाट समेत गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगे । पार्टीभित्र उत्पन्न अन्तरविरोधहरू ठीक किसिमले समाधान गर्न नसक्दा संस्थागत प्रबन्ध उलङ्घन हुँदैगयो र आन्तरिक एकता कमजोर भयो ।” भविष्यमा पार्टीको आन्तरिक कमजोरी हुन नदिनेतर्फ पार्टी पङ्क्ति सचेत हुने प्रतिबद्धता अध्यक्षद्वयले गर्नुभएको छ ।

उहाँहरूले भन्नुभएको छ, “सम्बन्धित सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ-आफ्ना गल्ती, कमजोरीप्रति आत्मसमिक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गर्दछौँ ।” पार्टीको आन्तरिक गुटगत समस्याले पार्टी कमजोर भएको भन्दै अध्यक्षद्वयले पार्टीलाई विधि, पद्धति र संस्थागतरुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ । उहाँहरूले प्रस्तावमा भन्नुभएको छ, “फैलिँदै गएको गुटबन्दीको असरलाई विधि, पद्धति र संस्थागत निर्णयको प्रभावकारी कार्यान्वयनद्वारा समाधान गर्ने र सबै प्रकारका अनेकता, अराजकता, अनुशासनहीनता एवम् गुटबन्दीपूर्ण क्रियाकलापलाई नियन्त्रण गर्ने निर्णय गर्दछौँ ।” पार्टीको नीति, नेता र कार्यकर्ताविरुद्ध सामाजिक सञ्जालमा जथाभावी लेख्नेर पार्टी हितविपरीत गतिविधि गर्ने प्रवृत्तिलाई कडाइका साथ रोक्न अध्यक्षद्वयले निर्देश गर्नुभएको छ ।

प्रस्तावमा, “पार्टी भित्रको अन्तरविरोधले गर्दा हुनगएको क्षतिलाई पारस्परिक विश्वास, सम्मान, एकता र समझदारीका साथ पूर्ति गर्ने सङ्कल्प गर्दछौँ, स्वस्थ एवम् गतिशील पार्टीका लागि अस्वस्थ बहस र गुटगत अभ्यास खतरनाक शत्रु जस्तै हो ।” पार्टीमा गुटबन्दी तथा अनुशासनहीनता अन्त्य गर्न अध्यक्षद्वयले पार्टी पङ्तिलाई आव्हान गर्नुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाको यो कार्यकालभरि प्रधानमन्त्रीको जिम्मेवारीमा रहेर सरकारलाई नेतृत्व गर्ने विषयमा कार्यदलले दिएको प्रतिवेदनअनुसार दुई अध्यक्ष सहमत हुनुभएको छ । उहाँहरूले तयार गर्नुभएको प्रस्तावमा भनिएको छ, “अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टीका बैठकहरूको सञ्चालन, निर्णयहरूको कार्यान्वनय र समग्र पार्टी कामको जिम्मेवारीमा केन्द्रित हुने, अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागत रुपमा अघि बढाउन समन्वय गर्ने ।”

त्यस्तै, पार्टीको बाँकी एकता प्रक्रियालाई टुङ्गो लगाउने विषयमा पनि दुई अध्यक्ष सङ्कल्प गर्नुभएको छ । उहाँहरूको प्रस्तावमा भनिएको छ, “अहिलेसम्म पनि एकता-एकीकरणका कतिपय महत्त्वपूर्ण कामहरू समेत सम्पन्न हुनसकेका छैनन् । फरक-फरक राजनीतिक कार्यदिशा र पृष्ठभूमिले निर्माण गरेको मनोविज्ञान, प्रमुख नेताहरूबीच बेलाबेलामा उत्पन्न असमझदारी र एकीकरणका सङ्गठनात्मक विषयहरूमा सहमति हुन नसक्ने जस्ता समस्याले एकीकरण प्रक्रियामा अनपेक्षित विलम्ब हुनपुगेको छ ।

कार्ययोजना र समय तालिकाभित्र रहेर प्राथमिकताका साथ एकीकरणका बाँकी काम सम्पन्न गर्ने ।” गोरखापत्र अनलाईनबाट

Facebook Comments