Thu. Apr 24th, 2025 09:49:17

जनसेवा माध्यमिक विद्यालयद्वारा छात्रवृति तथा पुरस्कार वितरण

भिओके समाचार/मोरङ, २०८१ माघ २५ गते शुक्रबार । मोरङको कानेपोखरी गाउँपालिकास्थित सामुदायिक विद्यालय जनसेवा माध्यमिक विद्यालय रमाइलोले आज भव्य कार्यक्रम आयोजना गरी सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई विभिन्न विधामा छात्रवृति, पुरस्कार र साइकल वितरण गरेको छ।

मोरङ‌ जिल्लाकैबीच भागमा अवस्थित जनसेवा माध्यमिक विद्यालय उक्त क्षेत्रको नमूना विद्यालयको रुपमा स्थापित छ । २०७५ सालमै स्थापनाको स्वर्ण महोत्सव मनाइसकेको सो विद्यालयमा हाल प्राविधिक धारतर्फ वाली बिज्ञान तथा साधारण धार तर्फ कमर्स, आर्ट्स र एजुकेशनका कक्षाहरू सञ्चालित छन्।

विविध धारका विषयहरू अध्यापन हुने कारण विद्यार्थीको चाप रहेको यस विद्यालयमा विभिन्न दाताहरुद्वारा स्थापित विविध अक्षय कोषहरू पनि सञ्चालित छन । यसैक्रममा आज तुलाराम गुरुङ छात्रवृति कोष, क्यानडा-जनसेवा अक्षय कोष तथा विद्यालयका पूर्व विद्यार्थी समूह-२०४८ द्वारा स्थापित अक्षय कोषले विद्यालयले सञ्चालन गरेको एक साझा कार्यक्रमबीच विभिन्न विधामा उत्कृष्ट छनोट भएका विद्यार्थीलाई पुरस्कार तथा छात्रवृत्ति प्रदान गरेका छन ।

तुलाराम गुरुङ छात्रवृत्ति कोष यसै विद्यालयका पूर्व प्रधानाध्यापक तुलाराम गुरुङ द्वारा स्थापित कोष हो । उक्त कोषले आज एक छात्र र एक छात्रालाई जनही रू २५,०००र अरू चार जनालाई जनही १०,००० का दरले ९० हजार बराबरको छात्रवृत्ति वितरण गर्नुका साथै क्यानडा-जनसेवा अक्षय कोषले वर्षेनी भलिबल प्रतियोगिता सञ्चालन गरी पुरस्कृत गर्ने गर्छ। उक्त कोषले दुईजना विजेता छात्र तथा छात्रा समूहलाई दश दश हजार र उप विजेता समूहलाई नगद रू पाँच पाँच हजार पुस्कृत गरेको छ। यसैगरी सो कोषले आज  ३०,००० बरावरको नगद पुरस्कार वितरण गरेको छ भने यसै विद्यालयमा अध्ययन गरेका कक्षा दश समूह-२०४८ द्वारा स्थापित कोषले हाल प्लस टु अध्ययन गरिरहेका लामो दुरीबाट अध्ययन गर्न आउने तीनजना छात्रा र दुईजना छात्र लाई एक एक थान गरी जम्मा पाँच थान साईकल वितरण गरेको छ।

उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमनाथ पौडेलको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष पौडेलले यस्ता पुरस्कार र छात्रवृत्तिले विद्यार्थीहरूमा अध्ययन गर्ने क्रममा प्रेरणा र उर्जा थप्ने गरेको साथै विद्यालयमा अरूपनि कोष रहेका र ती कोषबाट विद्यालयले योजना अनुसारका अन्य विविध कार्यक्रम पनि गर्ने गरेको बताउनुभयो । साथै पौडेलले अध्ययनमा कठिनाइ भएका विपन्न विद्यार्थीलाई त्यसले सहयोग पुग्ने गरेको पनि जानकारी दिनुभयो ।

Facebook Comments