Sun. May 5th, 2024

चट्याङ मास्टरद्वारा नेतृत्व गरिएको ‘एजिङ नेपाल’ लाई ‘युनेस्को अन्तर्राष्ट्रिय साक्षरता पुरस्कार’

काठमाडौं, २०७७ भदौं २१ गते आईतबार

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको विश्व प्रसिद्ध ‘युनेस्को अन्तर्राष्ट्रिय शिक्षा पुरस्कार २०२०’ नेपाली हाँस्यव्यंग्यका अग्रज तथा ज्येष्ठ नागरिकहरूका क्षेत्रमा कार्यरत नेपाली गैरसकारी संस्था एजिङलाई  प्रदान गर्ने भएको छ।

संस्थाले सञ्चालन गर्दै आएको ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा कार्यक्रम’ विश्वभरिका प्रतिस्पर्धीहरूमध्ये सर्वोत्कृष्ट ठहरिएकाले सो  पुरस्कारबाट सम्मान गरिएको घोषणा फ्रान्सको पेरिसस्थित युनेस्को मुख्य कार्यालयले गरेको हो ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारीका अनुसार ज्येष्ठ नागरिक र साक्षरताका सवालमा सो संस्थाले दिएको योगदान मूल्याङ्कनसहित गरिएको सिफारिशका आधारमा युनेस्को मुख्यालयले निर्णय गरेको हो। यो विश्वप्रसिद्ध पुरस्कारको राशी २० हजार अमेरिकी डलर छ।

हरेक अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा फ्रान्सको पेरिसस्थित युनेस्कोको मुख्यालयमा पुरस्कार वितरण गरिँदै आएकामा यस वर्ष यही भदौ २३ गते भर्चुअलरुपमा पुरस्तरका वितरण हुने डा. अधिकारीले जानकारी दिनुभयो। उहाँले नेपाली संस्थाले यस प्रकारको अन्तर्राष्ट्रियस्तरको पुरस्कार पाउनु नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्को आयोगको सचिवालय र नेपालीका लागि गौरवको विषय भएको बताउनु भयो । एजिङ नेपालका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) ले पुरस्कारको निर्णयबारे जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूहरुले बेग्लै किसिमको पाठ्यपुस्तक, अध्यापन विधि र तालिमप्राप्त शिक्षक तयार गरी एक दशकदेखि काम गर्दै आएको बताउनुभयो। सो संस्थाले राष्ट्रसङ्घस्थित युएन कमिटी अन एजिङको सहयोगमा सन् २०१६ देखि काठमाडौँका वडास्तरमा ‘ज्येष्ठ नागरिक आधारभूत शिक्षा’ कार्यक्रम सञ्चालन गर्दै आएको नागरिकन्यूजले लेखेको छ। चट्याङ मास्टर सिस्नुपानी नेपालका संस्थापक अध्यक्ष तथा नेपाली हास्यव्यंग्यका अग्रज हस्ति हुनुहुन्छ ।

Facebook Comments