Tue. Apr 30th, 2024

भारतले लद्दाखमा गोर्खा सैनिकलाई पठाएको भन्दै ग्रेटर नेपालको आपत्ति

फणिन्द्र नेपाल, अध्यक्ष- ग्रेटर नेपाल

काठमाडौं, २०७७ भदौं २१ गते आईतबार

भारतले गोर्खाली सेनालाई नेपालको घनिष्ठ मित्र चीनविरुद्ध प्रयोग गर्न लद्दाखमा तैनाथ गराएको भन्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आपत्ति जनाएको छ ।

भारतले चिनियाँ सैनिकविरुद्ध विकास बटालियन, ३/९ जिआर र ४/१ जिआरका गरी झण्डै चार हजार गोर्खाली सैनिक परिचालन गरेर नेपाल-चीनबीचको सम्बन्धलाई धाँजा पार्ने काम गर्न खोजेको ग्रेटर नेपाल राष्ट्रवादीको ठहर छ ।

सन् १९४७ नोवेम्वर ९ को गोर्खा भर्तीसम्बन्धी त्रिदेशीय सम्झौता रद्द गरी त्यहाँ कार्यरत नेपाली युवकहरूलाई नेपाल फर्कन आदेश जारी गर्न सरकारलाई अनुरोध गरेको व्यहोरा मोर्चाका तर्फबाट अध्यक्ष फणिन्द्र नेपालद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाल र नेपालीको निकटतम् मित्र चीनकाविरुद्ध इन्डियाका पक्षबाट नेपालीले नै लडिदिनुपर्ने यो विडम्बनापूर्ण युद्धले नेपाललाई जबरजस्ती चीनको शत्रु बनाउने परिस्थितिमा पु¥याउने’ मोर्चाको विज्ञाप्तिमा भनिएको छ ।

‘तसर्थ परिस्थिति भड्किनुभन्दा पहिल्यै नेपालले प्रभावकारी सावधानी अपनाउनुपर्छ र त्यो भनेको गोर्खाभर्ती सम्झौता रद्द गर्नु नै हो भन्ने ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको दृढ मान्यता रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । गोर्खा सैनिकलाई चीन विरुद्ध प्रयोग गर्नु मित्रघात हुने नेपालको धारणा छ ।

ग्रेटर नेपाल स्थापनाकालदेखि नै राष्ट्रियताको पक्षमा आवाज उठाउँदै आइरहेको संगठन हो ।

Facebook Comments