Mon. Dec 23rd, 2024

प्रदेश २ मा २५२ संक्रमित थपिए, सक्रिय संख्या पाँच हजार ४५८

जनकपुरधाम, २०७७ भदौं १८ गते बिहीबार

प्रदेश नं.२ मा बिहीबार २५२ जना नयाँ कोरोनाका संक्रमित थपिएका छन । प्रदेश नं.२ मा विगतमा केही दिन घटदै गरेको संक्रमण पुनः बढ्दै जान थालेको छ । मंगलबार ८८ जनामा झरेको संक्रमण बुधबार २५० हुँदै आज २५२ मा उक्लेको छ । बुधबार सम्ममा प्रदेश नं.२ मा जम्मा पाँच हजार ४५८ जना कोरोनाका सक्रिय संक्रमित रहेको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौ , प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर र नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा गरिएको परीक्षणबाट आज ५५ महिला र १९७ जना पुरुष गरी २५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको समाजिक विकास मन्त्रालय प्रदेश नं.२ का वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले जानकारी दिनुभयो । यो सँगै प्रदेश नं.२ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दस हजार ८०८ पुगेको छ ।

उहाँका अनुसार आज धनुषामा ६३, महोत्तरीमा १९, बारामा २५ ,पर्सामा ६९ सलार्हीमा ३० र रौतहटमा १८ जनामा कोरोना भाइरस पुष्टि भएको हो । वरिष्ठ जनस्वास्थ्य प्रशासक झाका अनुसार आज सप्तरीको राजविराज नगरपालिका वडा नं.७ का एक ५५ वर्षीय एक जना पुरुषको मृत्यु भएको छ ।

त्यसैगरी, आजै आठ महिला र १७५ जना पुरुष गरी १८३ जना संक्रमण मुक्त भएर घर फर्किसकेको उहाँले जानकारी दिनुभयो । योसँगै प्रदेश नं.२ मा कोरोनालाई जितेर फर्किनेको संख्या पाँच हजार २५४ पुगेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाले बताउनुभयो । उहाँले बिहीबारसम्म प्रदेश नं.२ मा एक लाख एक हजार ८२२ जनाको स्वाब संकलन गरी जाँचको लागि पठाइएकोमा पाँच हजार ८६ जनाको नतिजा आउन बाँकी रहेको बताउनुभयो ।

उहाँले आज मात्रै एक हजार २४१ जनाको स्वाब जम्मा गरिएको बताउनुभयो । केही दिन यता प्रदेश नं.२ मा प्रदेश सरकारले पिसिआरको परीक्षणको दायरा फराकिलो पारेपछि संक्रमितको पहिचान हुन थालेको वरिष्ठ जनस्वास्थ्य प्रशासक झाको भनाइ रहेको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments