आजदेखि सोह्रश्राद्ध सुरु
काठमाडौं, २०७७ भदौं १७ गते बुधबार
असोज कृष्णपक्षको प्रारम्भसँगै हिन्दू परम्पराको पितृपक्ष आजदेखि सुरु भएको छ । यसपालिको पितृपक्ष सोह्रश्राद्ध भदौ १७ गते सुरु भई ३१ गते समापन हुँदैछ ।
औँसीमा सङ्क्रान्ति परेका कारण असोज २ देखि भने एक महिना हुने अधिक मास अर्थात् पुरुषोत्तम मास पर्न जाँदा दसैँ पर सरेको छ । कोभिड-१९ ले एकछत्र रजाइँ गरिरहँदा चाडबाड, तिथि, पर्व कुनैमा यसपालि रौनक देखिएन । श्राद्धादि कर्म पनि सकेसम्म कोरोनालाई ख्याल गरी घरैमा गर्नुपर्ने बाध्यता रहेको छ ।
सोह्रश्राद्ध किन गरिन्छ ?
चान्द्रमानको पात्रोअनुसार वर्षमा चौबीस पक्ष रहेका हुन्छन् । यी चौबीस पक्षमध्ये आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्रश्राद्ध भनिन्छ । एक पक्षमा पन्ध्र तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसीसम्मका वा जमरे औँसीसम्म सोह्र तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्रश्राद्ध भनिएको हो । यसलाई पार्वण श्राद्ध पनि भनिन्छ ।
आश्विन कृष्णपक्षमा गर्नुपर्ने श्राद्धको महिमा श्रीमद्भागवत, महाभारत आदि पौराणिक ग्रन्थमा समेत बताइएको छ । यस श्राद्धमा चार जना ब्राम्हण चाहिने भएकोले ब्राम्हणको प्रतीक स्वरूप कुशको ब्राम्हण थापिएको हो । पहिलेपहिले पार्वण श्राद्ध गर्दा चार जना नै ब्राम्हण अगाडि राखेर पूजाआजा गर्ने परम्परा रहेको र यो परम्परा लोप हुँदै गएर श्राद्ध मण्डपमा कुशको ब्राम्हण राखिएको हो ।
दुवैपट्टि दुई-दुई ब्राम्हणलाई क्रमशः विश्रदेव र पितृ ब्राम्हण भनिन्छ । पार्वण श्राद्ध अन्य श्राद्धको विधि जस्तै सुरुमा देव मनुष्य दिव्यपितृ र स्वपितृलाई तर्पण दिइएपछि पार्वण श्राद्ध सुरु हुन्छ । यसपछि प्रत्येक ब्राम्हणलाई निमन्त्रण गरिन्छ । पहिले पहिले अघिल्लै दिनमा गरिन्थ्यो । ब्राम्हण निमन्त्रणापछि भूस्वामीलाई अन्नदान गरिसकेपछि चारै जना ब्राम्हणलाई विधिपूर्वक सिधादान गरिन्छ । यसपछि विकटदान गरी पिण्ड दानका लागि वेदि बनाएर पूजा गरिन्छ ।
प्रत्येक पितृलाई पिण्ड दिनुअघि पिण्डासन दिई पितृको नाम लिएर विधिपूर्वक पिण्डदान गरिन्छ । श्राद्धको लागि स्थान हेर्ने हो भने पार्वण श्राद्ध आफ्नै घरमा बसेर वा आफ्नो नभए पवित्र तीर्थस्थल, गंगाको तिरमा गएर पनि गर्ने चलन छ । तर, घरमै भए पनि श्राद्ध गर्दा भूमि मै गर्नुपर्ने नियम छ । श्राद्धको समयको कुरा गर्ने हो भने पार्वण श्राद्ध खासगरी अपराह्नमा गर्नुपर्ने शास्त्रमा उल्लेख भएको भनाई पाइन्छ ।
हाम्रो समाजमा श्राद्ध भनेको के हो ? यो किन गरिन्छ ? श्राद्ध कहिले र कसरी गर्नुपर्छ ? यी कुराहरूमा विस्तृत रूपमा अध्ययन गर्न नसके पनि समान्य जानकारी लिई व्यवहारिक रूपमा आफ्नो जीवनमा उर्ताने प्रयास गर्नु अति जरुरी हुन्छ । श्राद्ध भन्नाले सामान्य अर्थमा बुझदा आ–आफ्नो गच्छेअनुसार श्राद्धसाथ गरिने कार्य भन्ने बुझिन्छ । यसमा यति नै गर्नुपर्छ भन्ने हुँदैन । “श्रद्धया क्रियतेयत्र त च्छाद्धं परिकीर्तितम्” अर्थात् -पितृका लागि जो कार्य गरिन्छ, त्यसलाई नै श्राद्ध भनिन्छ । देश काले च पात्रे च श्रद्धया विधिना च यत् । पितृनुद्दिश्य पिप्रेभ्यो दत्तं श्राद्धमुहाह्तमे ” देशकाल पात्रमा श्रद्धाले विधिपूर्वक पितृहरूको नामोच्चारण गरी ब्राम्हणहरूलाई जो दान दिइन्छ त्यो दानलाई श्राद्ध भनिन्छ । यसबारे के प्रष्ट हुन्छ भने पितृहरूको उद्देश्यले गरिने कार्य श्राद्ध हो ।
श्रद्धापूर्वक गरिएको पितृ कार्यले पितृ तथा कर्ताको कल्याण हुन्छ । श्राद्ध कर्मको विशेषता भनेको शुद्ध मन्त्र उच्चारण सहित श्राद्ध गर्नु हो किन कि भनिएको पनि छ ।“पितरो वाक्य मिच्छरिन्त भाव मिच्छन्ति देवता” अर्थात्-पितृहरूलाई शुद्ध मन्त्र, शुद्ध वाक्य चाहिन्छ भने देवताहरूलाई भाव भए पुग्छ श्राद्धकल्पअनुसार पनि-प्रेत र पितृलाई मन पर्ने वस्तु श्रद्धाले दिनु नै श्राद्ध हो । यस प्रकार आफ्ना पितृहरूको मृत तिथिमा गरिने पितृ यज्ञलाई श्राद्ध भनिन्छ । हाम्रो धार्मिक शास्त्रमा श्रद्धा धेरै किसिमका छन् । भविष्य पुराणमा श्राद्ध १२ वटा उल्लेख गरिएको छ । जुन यस प्रकार छ । यसमा दिनदिनै गरिने पहिलो नित्य श्राद्ध हो । त्यस्तै गरी दोस्रो वार्षिक एकोद्दिष्टदिनैमित्तिक श्राद्ध हो । तेस्रो आफ्नो इच्छा सिद्ध होस् भनि गरिने काम्य श्राद्ध हो । चौथो हो विवाह आदि अभ्युदयमा गरिने वृद्धि श्राद्ध हो । पाँचौ सपिण्डि श्राद्ध हो । छैठौँ पार्वण श्राद्ध हो । सातौँ गोठमा गरिने गोष्ठी श्राद्ध हो । आठौँ पितृ तृप्ति विद्धानहरूको सुख प्राप्ति र शुद्धिका निमित्त गरिने ब्राह्ण भोजन शुद्धि श्राद्ध हो ।
नवाैँमा सिमान्तोनयन पुंसवन आदि संस्कारका निमित्त गरिने कमांग श्राद्ध हो । दशौँ देववताहरूको उद्देश्यले गरिने दैविक श्राद्ध ११ देशान्तरमा जाँदा ध्यूले गरिने यात्राश्राद्ध हो । र बाह्राैँमा शरीर स्वस्थ्य होस् भनि गरिने पुष्टिश्राद्ध हो । त्यस्तै गरी अर्को पाँच प्रकारको श्रद्धा रहेको छ । यो श्रद्धा भने आजकाल धेरै आएको देखिन्छ । यसमा प्रथम नित्य हो भने दोस्रो नैमित्तिक, तेस्रो काम्य, चौथो वृद्धि र पाँचौ पार्वण श्रद्धा हो । यी सबै मध्ये खासगरी हाम्रो समाजमा एकोद्दिष्ट श्राद्ध जुन आफ्ना पितृहरूलाई वार्षिक रूपमा मृत तिथिमा गरिने श्राद्धलाई एकोद्दिष्ट श्राद्ध भनिन्छ । यो जुन पितृको मृत महिना पक्ष र तिथि याद गरी यो कार्य गरिन्छ । त्यस्तै गरी वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ यो खासगरी सोह्रश्राद्ध भन्नाले प्रत्येक पक्षमा गरिने श्राद्धलाई बुझनु पर्छ । शास्त्रमा यसलाई पार्वण श्राद्धको नामबाट बुझिन्छ ।
आफ्ना पितृहरूको जुन तिथि हो त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । एक पार्वण श्राद्ध औँसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ ।अन्त्यमा भन्नुपर्दा वैद्धिक सनातनी समाजमा सोह्रश्राद्धले आफ्नै महत्व राख्दछ । श्राद्ध भनेको भक्तिभावपूर्ण पितृहरूको उद्धार गर्ने कार्य हो । हाम्रो समाजका सबैभन्दा ठूला पर्व दसैँ तिहार हुन् । यी पर्व मनाउनुभन्दा पहिले आ-आफ्नो पितृहरूलाई आदरसाथ श्राद्धपूर्वक सम्झना गर्नाले सबैको कल्याण हुन्छ । यसकारणले गर्दा परापूर्वकालदेखि नै यो संस्कार चलिनै रहेको छ । यसरी पितृ पक्षमा आफ्नो बाबुको जुन तिथि हो, त्यही तिथिमा श्राद्ध गर्नुपर्छ । आफ्नो गच्छेअनुसार सकिन्छ भने सोह्र दिनसम्म गर्ने विधान छ । तर, सकिँदैन भने कम्तीमा पनि आफ्नो बुबाको तिथिका दिन अनिवार्य रूपमा श्राद्ध गर्नुपर्छ ।
सौंर्य अनलाईनका अनुसार श्राद्ध कसरी गर्ने सन्दर्भमा भने श्राद्ध गर्ने अघिल्लो दिनमा कपाल खौरने लुगा तथा घरको सरसफाइ गर्ने एक भक्त रही ब्रह्मचार्य आदिको नियमको पालना गर्ने यसै दिनलाई नै एक छाके अर्थात् हबिसे पनि भनिन्छ- एक छाके भनेको यस दिन अपरान्ह्पछि मात्र एक छाक खानु पर्छ र श्राद्धका दिन अर्थात् भोलिका लागि ब्राह्णलाई निमन्त्रण दिने गर्नुपर्छ । दोस्रो दिन अर्थात श्रद्धाका दिनमा शौच, स्नान, नित्यकर्मादि गरी ब्राह्मणलाई बोलाई नियमानुसार श्राद्ध आरम्भ गर्नुपर्छ र श्राद्धपछि ब्राह्मण, बन्धु, बान्धब, भान्जा, भान्जी र छोरी ज्वाँइलाई खाना खुवाए पश्चात दान दक्षिणा गर्ने गरिन्छ । यदि यी सबै कुरा सम्भव हुने स्थिति नरहेमा तर्पण र सिधा दान मात्र गरे पनि हुन्छ । तर, तिथि बिर्सर्ने र यो क्रम तोडिनुचाँहि कदापी हुँदैन । यसर्थ हाम्रो सनातन धर्म र संस्कृतिको जर्गेना तथा संरक्षण गर्नु सबैको परम कर्तव्य हो ।