पुसमै पाक्यो ‘चैते काफल’
तुलसीपुर, २०८१ माघ ३ गते बिहीबार । चैतमा पाक्ने काफलको परिचय फेरिँदै गएको छ । विगतमा चैतमा मात्रै फल्ने भएकाले चैते काफल भन्ने गरिएकामा अचेल पुष माघमै फल्ने थालेपछि के भन्ने भनेर अन्योलको स्थिति छ ।
हुन त धेरैतिरबाट यस्ता खबरहरू आउने भएकाले आजभोलि कतिपयका लागि यो आश्चर्यको विषय होइन तर दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा भने धेरै जना आश्चर्यचकित छन्, किनकि यहाँ पुषमै काफल पाक्न थालेको छ । विगत वर्षदेखि यस क्षेत्रमा कुनै वर्ष कि चैतभन्दा पछि, कि त त्यसअघि नै काफल पाक्न थालेपछि धेरैलाई अचम्म लाग्न थालेको हो । “गएको वर्ष जेठसम्म पनि चैते काफल नपाकेको छिल्लीकोटमा यस वर्ष भने पुसमै पाकेको छ । यस्तो कहिल्यै हुन्थेन । यो के अचम्म भएको हो ?“, आश्चर्य मान्दै स्थानीय प्रवीर पुनले भन्नुभयो ।
केही वर्षअघिसम्म चैते काफल चैतमै पाक्ने गरेको भए पनि पछिल्लो समय कहिल्यै अघि र कहिल्यै पछि पाक्दा आफूहरू अचम्मित भएको उहाँको भनाइ छ । यस वर्ष पुसमै काफच चाख्न पाएको पुनले जानकारी दिनुभयो । यहाँ पुसको तेस्रो हप्तादेखि काफल पाक्न थालेको हो ।
जलवायु परिबर्तनका कारण यस्तो समस्या देखिने गरेको तुलसीपुर उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताउनुभयो । उहाँका अनुसार चिसो मौसममा १० डिग्रीभन्दा कम तापक्रम नहुँदा यसरी अगाडि नै काफल पाकेको उहाँको भनाइ छ । “यस वर्ष १० डिग्रीभन्दा कम तपक्रम नै भएन”, उहाँले भन्नुभयो, “यसको प्रभावले पनि छिट्टै काफल पाकेका हुन् ।”
बिरुवामा हर्मोनल प्रभावले यसरी समयभन्दा ढिलो र छिटो हुने गौतमको भनाइ छ । बिरुवामा पातको मुना आउने र फूलको मुना आउने आ–आफ्नै समय हुने गरेको भए पनि यसपटक सँगसँगै पातको मुना र फूलको मुना आउँदा पनि त्यस्तो प्रभाव परेको हुनसक्ने उहाँको भनाइ छ ।