तिब्बत भूकम्प अपडेट : चीनको सिगात्छेमा शक्तिशाली भूकम्प, ९५ जनाको मृत्यु, १३० जना घाईते
काठमाण्डू,२०८१ पुस २३ गते मंगलबार । चीनको तिब्बत स्वायत्त प्रदेशको डिङरिमा आज बिहान गएको शक्तिशाली भूकम्पमा परि ९५ जनाको ज्यान गएको छ भने १३० जना घाईते भएका छन् ।
सिन्ह्वा समाचार समितिका अनुसार चीनको तिब्बत स्वयत्त प्रदेशको मुख्य शहर सिगात्छेबाट झण्डै २३ किलोमिटर उत्तरमा रहेको डिङरी काउन्टीमा स्थानीय समय अनुसार बिहान ९ बजेर ५ मिनेटमा ६ दशमलव ८ म्याग्नीच्यूटको भूकम्प गएको थियो ।
भूकम्पको धक्का नेपाल, भुटान, भारत लगायतका देशहरुमा समेत महसुस गरिएको थियो । भूकम्प प्रभावित क्षेत्रमा चीन सरकारले ठूलो मात्रामा उद्धारकर्मीहरु खटाएको छ । उनीहरुले अहिले पनि भूकम्पग्रस्त क्षेत्रमा राहत र उद्धारको काम गरिरहेका छन् ।
पछिल्लो जानकारी अनुसार भूकम्पबाट एक हजार वटा घरहरुमा क्षती पुगेको छ । सो क्षेत्रमा कपासको पाल, सुती कोट, सिरक फोल्डिंग बेडहरू, उच्च उचाइ र चिसो क्षेत्रहरूका लागि विशेष राहत सामग्रीहरू २२ हजार थान पठाईएको छ भने १,५०० भन्दा बढी स्थानीय अग्नि नियन्त्रक केन्द्रीय अधिकारीहरूले पठाएका छन् ।
यसैबीच चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तिब्बतमा गएको भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतीले अत्यन्त दुखी बनाएको बनाउनुहुँदै भूकम्प प्रभावित क्षेत्रका नागरिकहरुको र उद्धारका लागि सक्दो प्रयास गर्न, घाइतेहरूको उपचार गर्दै, हताहतका घटनालाई सक्दो कम पारेर प्रकोपपछि आउने विपत्तिहरू जोगाउन निर्देशन दिनुभएको छ ।
राष्ट्राध्यक्ष सी चिनफिङले भूकम्पको अनुगमन र पूर्वसूचनालाई मजबुत बनाउन, आपतकालीन तथा उद्धार सामग्री तत्काल विनियोजन गर्न क्षतिग्रस्त, पूर्वाधारको मर्मतसम्भारमा विशेष ध्यान दिन पनि निर्देशन दिनुभएको छ ।
यसका साथै जनताको आधारभूत जीविकोपार्जनका लागि राम्रो व्यवस्था गर्नुपर्ने भएकोले जाडो समय बिताउन न्यानो कपडा, अस्थायी आवास र खानाको प्रर्याप्त व्यवस्था गर्न पनि आदेश दिनुभएको छ ।