Sun. May 19th, 2024

कार्यदलले काम गर्दागर्दै ओली र दाहालबीच नियुक्तिहरुलाई लिएर नयाँ विवाद

काठमाडौं, २०७७ भदौं ४ गते बिहीबार

महासचिवको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदल विवाद समाधानसम्बन्धी प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटिरहेका बेला नेकपाका दुई अध्यक्षबीच केही नियुक्तिलाई लिएर विवाद देखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष दाहालबीच सरकारका पछिल्ला नियुक्तिलाई लिएर विवाद देखिएको हो । मंगलबार र बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेका अध्यक्ष दाहालले कार्यदल गठन भएयताको नियुक्तिप्रति असन्तुष्टि जनाएका छन् ।

दाहाल निकट स्रोतले बताएअनुसार उनले बिहीबार प्रधानमन्त्री ओलीलाई भेटेर पछिल्ला नियुक्ति सच्चाउन माग गरेका छन् । तर, प्रधानमन्त्री ओलीले कार्यदल गठनअघि नै प्रक्रियामा रहेका विषयहरूमाथि निर्णय गरिएको र कार्यदल गठनपछिको विषय नरहेको बताएका छन् ।

नियुक्तिको निर्णय नसच्याए विवाद समाधान गर्न गठित कार्यदलको काम प्रभावित हुन सक्ने दाहालको चेतावनी छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो । यिनै नियुक्तिमा दाहालले असन्तुष्टि जनाएका हुन् । यद्यपि भण्डारीलाई कार्यवाहक अध्यक्षका रुपमा काम नगराउन सर्वोच्च अदालतले आदेश दिइसकेको छ । दाहालले शुक्रबार कार्यदल गठनपछि मन्त्रिपरिषदबाट अन्य केही नियुक्तिहरु पनि भएको आंशका गरेका छन् ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पनि नियुक्तिपछि दाहाललाई भेटेर खारेजीका लागि प्रधानमन्त्री ओलीसँग संवाद गर्न सुझाव दिएका थिए । दाहालले बुधबार एक टीभीलाई दिएको अन्तर्वार्तामा कार्यदलले काम गरिरहेको र एक सातामा केही नतिजा आउने बताएका थिए ।

पार्टी विवाद हल गर्न ओली र दाहालले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजककत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए । कार्यदलले सहमितको मस्यौदा बनाउन आफ्नो गृहकार्य जारी राखेको छ । स्थायी कमिटी बैठकका एजेन्डालाई आधार मानेर सहमतिको मस्यौदा बनाउने कार्यदलको तयारी छ । कान्तिपुर अनलाईनबाट

Facebook Comments