Fri. May 29th, 2026

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा राष्ट्रको गौरव बढाएको छ : अध्यक्ष नेपाल   

       

काठमाण्डू, २०८१ पुस १५ गते सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताउनुभएको छ ।

अध्यक्ष नेपालले तमुल्होसारका अवसरमा शुभकामना दिँदै मौलिक विशेषता बोकेका फरक संस्कृति एवं परम्पराले अनेकतामा एकता, एकापसमा सहिष्णुता, सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने बताउनुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले सम्पूर्ण जातजातिका फरक भाषा, साहित्य, कला र रहनसहन संवर्द्धनबाट नेपाली समाजलाई अन्तर्राष्ट्रिय तहमा सांस्कृतिक रूपमा सम्पन्न बनाएको उल्लेख गर्दै बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ ।

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले विविधताले भरिपूर्ण मुलुकमा सबै समुदायका चाडपर्व तथा संस्कृतिको महत्त्व रहेको उल्लेख गर्नुभयो ।

सामाजिक एकता, पारस्पारिक सम्मान अभिवृद्धि गरी आर्थिक विकास तथा समृद्धि कायम गर्न सकिने बताउँदै उहाँले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गरी समतामूलक समाज निर्माण गर्नुपर्नेमा जोड दिइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

1 min read
1 min read
1 min read