विराटनगरमा देशभरका कानून व्यवसायी महिलाहरुको जमघट
रमेश हतुवाली/काठमाण्डू, २०८१ पुस १३ गते शनिबार । कोशी प्रदेशको राजधानी तथा औद्योगिक महानगरी विराटनगरमा यत्तिवेला देशभरका कानून व्यवसायी महिलाहरुको जमघट रहेको छ ।
झण्डै एक हजारको हाराहारीमा कानून व्यवसायी महिलाहरु राष्ट्रिय सम्मेलनका लागि विराटनगर पुगेका हुन् । ३१औं कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन २०८१ लाई भव्य रुपमा सफल बनाउन नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोली दुई दिन पहिलेनै विराटनगर पुगिसकेको छ । सम्मेलनमा भाग लिन देशका ७७ वटै जिल्ला बार एशोसिएशन, सबै उच्च बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन सहितका पदाधिकारीहरु विराटनगर पुग्नु भएको बताईएको छ ।
उच्च अदालत बार एशोसिएशन विराटगनरका उपाध्यक्ष कला त्रितालका अनुसार राष्ट्रिय सम्मेलनका लागि सम्पूर्ण तयारीहरु पुरा भएका छन् । भोलि बिहान ७ बजे प्रभातफेरी पछि होटल मनास्लु इन, वरगाछीमा राष्ट्रिय सम्मेलन सुरु हुने कार्यक्रम रहेको छ । पुस १३ र १४ हुने दुई दिने राष्ट्रिय सम्मेलनको उद्धघाटन सर्वोच्च अदालतका न्यायाधिश सपना प्रधान मल्लले गर्नुहुने भएको छ ।
यस सम्मेलनमा महिलाहरुको समानुपातिक सहभागीता, अवसर र चुनौती, कानून व्यवसायी महिलाको पेशागत अवस्था, चुनौती र आर्थिक सवलीकरण, लैगिंक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँचको अवस्था, पुनःस्थापन, निःशुल्क कानूनी सेवा लगायतका बिभिन्न बिषयहरुमा छलफल हुनेछ तयारी गरिएको छ ।
नेपाल बार एशोसिएशनका केन्द्रीय उपाध्यक्ष आशा राईका अनुसार सम्मेलनमा न्यायीक समितिको क्षेत्राधिकार तथा मेलमिलाप, विवाद समाधानका चुनौतीहरु, वातावरण परिवर्तनको प्रभावले महिलामा पार्ने असरहरू, वित्तिय क्षेत्रमा रहेका सम्भावना र चुनौती, प्रजनन् स्वास्थय अधिकार र सूचना तथा प्रविधिमा महिलाको पहुँचका बिषयमा पनि व्यापक छलफल गर्ने तयारी गरिएको छ ।