Wed. Apr 24th, 2024

पर्यटन बोर्डले ल्यायो ८० करोडको बजेट

काठमाडौं, २०७७ साउन २६ गते सोमबार

विश्वव्यापी कोरोना भाइरसको महामारीका कारण पर्यटक आगमन हवात्तै घटेपछि यसको असर नेपाल पर्यटन बोर्डको बजेटमा देखिएको छ । पर्यटन बोर्डको कार्यकारी समितिले सोमबार साँझ चालू आर्थिक वर्ष २०७७/७८ का लागि ८० करोड ७१ लाख लक्ष्यसहितकाे बजेट ल्याएको छ ।

बोर्डका सीइओ धनञ्जय रेग्मीका अनुसार चालू आर्थिक वर्ष ०७७/७८ मा २ लाख पर्यटक आउने प्रक्षेपण गरिएको छ । यो गएको आर्थिक वर्षको दाँजोमा ६ लाखले कम हो । बोर्डले ती पर्यटकबाट २० करोड ६२ लाख रुपैयाँ हाराहारी आम्दानी हुने प्रक्षेपण गरेको छ । कूल बजेटको २६ प्रतिशत हो । बोर्डको मूख्य आम्दानीको स्रोत मानिने यो रकम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रति विदेशी १ हजार रुपैयाँका दरले पर्यटन सेवा शुल्कका रुपमा वायुसेवा कम्पनीले संकलन गरेर बोर्डलाई बुझाउने गर्छन् ।

यसबाहेक बोर्डको अर्को मूख्य आम्दानीमा पदयात्रामा जाने पर्यटकबाट उठाइने टिम्स (पदयात्री, पर्यटन, सूचना व्यवस्थापन) शुल्क र निजी क्षेत्रलाई विदेशमा हुने मेलामा सहभागी गराउँदा संकलन हुने आय हुन् । बोर्डले टिम्सबाट ३ करोड ११ लाख संकलन हुने प्रक्षेपण गरेको छ । त्यस्तै हल भाडालगायत विविध स्रोतबाट बोर्डले ८४ लाख मात्रै संकलन हुने जनाएको छ ।

पर्यटक आगमन अझै घट्ने सम्भावना रहेकाले यीबाहेक सरकारबाट प्राप्त हुने तथा अन्य स्रोतलाई पनि बजेटमा राखिएको छ ।

बोर्डले पहिलोपटक बैंकमा रहेको सञ्चित ४० करोड रकम पनि झिक्ने निर्णय लिएको छ । ‘बैंकमा राखिएको रकम पनि झिक्नु पर्ने अवस्था आयो,’ रेग्मीले भने, ‘त्यसैगरी पहिलोपटक संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) सँग सहकार्य गर्ने निर्णय भएको छ ।’ जसअन्तर्गत बोर्ड र यूएनडीपीले ४ वर्षमा ५० करोड रुपैयाँ खर्च गर्ने छन् ।

त्यसैगरी पर्यटनमा आश्रित मजदुरका लागि बोर्डले ट्रेकिङ एजेन्सीज एसोसिएसनसँग सहकार्य गर्न १५ करोड बजेट छुट्याएको छ ।

२०७६/७७ मा भम्रण वर्ष २०२० घोषणा भएकाले १ अर्ब ६३ करोडको बजेट बनाइएको थियो । बोर्डको सञ्चालक समितिका एक सदस्यका अनुसार, ‘कोरोनाको महामारीका कारण आएको मन्दिले ८१ करोड रुपैयाँमात्रै सकंलन भएको छ । जसमा बोर्डले ६८ करोड खर्च गरेको छ । ‘यो वर्ष पनि हामीले प्रक्षेपण गरेको भन्दै निकै आम्दानी कम हुने सम्भावना छ,’ ती सदस्यले भने, ‘किनकी कोरोना माहामारी जारी छ के हुने हो अन्दाज गर्न सकिने अवस्था छैन ।’

धेरैपछि समयमै बजेट ल्याउन सफल भएको बोर्डले यसपटक नेपालको प्रचार सीएनएन र बीबीसीमा गर्ने कार्यक्रम राखेको छ । ‘पहिला पहिला बजेट बिनियोजन हुन्थ्यो तर प्रचार गरिदैनथ्यो । यसपटक विदेशी मिडियामा प्रचार गरिने छ,’ रेग्मीले भने ।

पर्यटन सचिव केदारबहादुर अधिकारी अध्यक्ष रहेको बजेट बैठकले बोर्डलाई सबै प्रदेशमा बिस्तार गर्ने भएको छ । यसका लागि १ करोड ७० लाख बजेट बिनियोजन गरिएको छ । ‘पोखरामा पहिल्यै शाखा थियो,’ सीइओले भने, ‘वागमती प्रदेशलाई केन्द्रबाट हेरिने छ बाँकी प्रदेशमा बोर्डको शाखा बिस्तार हुने छ ।’

नेपालबाट आरोहण हुन नसकेको चोयू हिमाल आरोहणका लागि मार्ग बनाउन बजेट बिनियोजन गरिएको छ । कान्तिपुर अनलाईनबाट

Facebook Comments