Fri. Apr 26th, 2024

निजी अस्पतालले भर्ना नलिँदा दुई दिनमा तीनको मृत्यु

बिरामी भर्ना लिन छाडेका वीरगन्जको नेशनल मेडिकल कलेज र बयोधा हस्पिटल । फाइल तस्बिर

वीरगन्ज, २०७७ साउन २४ गते शनिबार

वीरगन्जमा निजी अस्पतालले भर्ना लिन नमान्दा उपचार नपाएर दुई दिनमा तीन जना बिरामीले ज्यान गुमाएका छन्। वीरगन्जका अस्पतालले बिरामी भर्ना लिन नमानेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले गत बिहीबार जनस्वास्थ्यमा खेलवाड नगर्न सुचना जारी गरेको थियो। तर उसले सूचना निकालेको दिनदेखि नै वीरगन्जमा दिनहु उपचार नपाएर बिरामीको मृत्यु भइरहेको छ।

एक मात्र सरकारी अस्पताल नारायणी अस्पताललाई सरकारले कोभिड अस्पताल घोषणा गरेकाले त्यहाँ आकस्मिक बाहेकका अन्य सबै उपचार सेवा १०/११ दिनदेखि बन्द छ। निजी अस्पतालहरु सञ्चालनमा रहे पनि उनीहरुले ज्वरो, रुघाखोकी, पखाला, दम, मुटु जस्ता अन्य रोगका बिरामीलाई भर्ना नलिई अस्पतालको गेटबाटै फर्काइ दिएका छन्। जसका कारण बिहीबार र शुक्रबार गरि दुई दिनमै उपचार नपाएर तीन जना बिरामीको मृत्यु भएको हो।

शुक्रबार राति आधा दर्जन अस्पताल चाहार्दा पनि भर्ना नलिएका कारण उपचार नपाएर वीरगन्ज-२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको छ। शुक्रबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि लामालाई छिमेकी र आफन्तले टेम्पुमा राखेर एडभान्स हस्पिटलमा पुर्‍याएका थिए। तर एडभान्स हस्पिटलले आकस्मिक बाहेकका उपचार सेवा बन्द रहेकाले भर्ना नलिइ लामालाई बयोधा अस्पतालमा लैजान सुझाव दिए।

बयोधा अस्पतालले पनि आफ्ना डाक्टर र नर्स संक्रमित भएकाले उपचार गर्न नसक्ने जवाफ दिएपछि लामालाई आफन्तले भवानी हस्पिटलमा लिएर गएका थिए। तर भवानी हस्पिटलले पनि गेट बाहिरबाटै फर्काएपछि तराइ हस्पिटलमा लामालाई लगिएको थियो। तर भवानी हस्पिटलले पनि आइसियु कक्षमा बेड खाली छैन भन्दै फर्कापछि लामालाइ आफन्तले टेम्पुमै राखेर नेशनल मेडिकल कलेजमा लिएर पुगे। तर मेडिकल कलेजले पनि भर्ना लिन नमानेपछि अटोमै राखेर नारायणी अस्पतालमा लैजाँदै त्यहाँका चिकित्सकले बिरामीमा कोरोनाको शंकास्पद लक्षण देखिएको भन्दै यहा उपचार गर्न नसकिने जवाफ दिएको मृतक लामाका आफन्त रुपेश सिंहले बताए। आधा दर्जन अस्पताल डुलाउँदा पनि कसैले भर्ना नलिएपछि अन्त्यमा गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा राति २ बजेतिर बिरामीलाई लिएर पुगेको र त्यहाँ पुगे लगत्तै बिरामीको मृत्यु भएको सिंहले जानकारी दिए।

कोभिड अस्पताल आइपुग्दा लामा अन्तिम अवस्थामा पुगेकाले बचाउन नसकिएको कोभिड अस्पतालका कोर्डिनेटेर डाक्टर उदय नारायण सिंहले जानकारी दिए। यसअघि शुक्रबार नै बिहान नेशनल मेडिकल कलेजले भर्ना लिन नमान्दा उपचार नपाएर वीरगन्ज-३ छपकैयाका ६५ वर्षीय जोखु साह सोनारको मृत्यु भएको थियो। मृत्युपछि भने स्वाब परिक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै गत बिहीबार बिहान पनि नेशनल मेडिकल कलेजले नै भर्ना लिन नमान्दा मेडिकल कलेजकै गेटमा वीरगन्ज-१४ श्रीपुरका ६४ वर्षीय चलितर महत्तोको पनि मृत्यु भएको थियो। वीरगन्जका निजी अस्पताल र मेडिकल कलेजले महामारीको समयमा पनि ज्वरो, खोकी, श्वासप्रश्वासका सामान्य लक्षण भएका बिरामीलाई पनि भर्ना लिन नमान्दा उपचार नपाएर बिरामीको मृत्यु हुने क्रम बढेको छ। निजी अस्पतालले स्वास्थ्यकर्मी र आइसियुको अभाव रहेको बहाना पनि बनाउँदै बिरामीलाई भर्ना नलिइ फिर्ता पठाउने गरेका छन्।

कोरोना संक्रमण नभएका अन्य रोगका बिरामी उपचार नपाएर दिनहु मृत्यु भइ रहँदा पनि स्थानीय प्रशासनले भर्ना नलिने निजी अस्पताल र मेडिकल कलेजका विरुद्ध अहिलेसम्म कुनै कार्वाही प्रकृया थालेको छैन्। जसका कारण निजी अस्पतालसँगै स्थानीय प्रशासनका विरोधमा नागरिकले आक्रोश व्यक्त भइरहेको छ।

वीरगन्जका युवा तबरेज अहमद भन्छन् ‘वीरगन्जका निजी हस्पिटलहरुले भर्ना लिन नमान्दा उपचार नपाएर दिनहु बिरामीहरु मरिरहेका छन्, तै पनि यहाँको प्रशासनले निजी हस्पिटल विरुद्ध कुनै एक्शन लिन सकिरहेको छैन। अर्का युवा मनोहर साह आक्रोश पोख्दै भन्छन् ‘यो देश नेताले होइन मेडिकल माफियाहरुले चलाइ रहेका छन्। त्यहि भएर निजी हस्पिटलले मान्छे मार्दा पनि सरकारले मेडिकल माफीयाविरुद्ध बोल्न नसकेको हो। आखिर दाना पानीको सवाल जो छ।’ अन्नपूर्ण पोष्ट दैनिक अनलाईनबाट

Facebook Comments