Wed. Apr 24th, 2024

गरिबीको सजीव तस्बिर, घनघस्याको चिसो लेकमा नाङ्गा गोठाला

- कम्युनिष्ट सरकारको ध्यान कहिले जाला ?

धनगढी, २०७७ साउन २२ गते बिहीबार

साउने झरीमा रुझ्दै नौ वर्षकी आरती भण्डारी घनघस्याको लेकमा नाङ्गै गोठाला हिँड्छिन् । आरतीसँग जीउ ढाक्ने लुगा छैन, न त ओढ्ने छाता नै छ । घरमा खान पुग्दैन । स्कुल पढ्न कापी-कलम, पोसाक र झोला त निकै परको सपना जस्तो छ । यो पीडा डडेल्धुरा जिल्लाको अजयमेरु गाउँपालिका-१, खतेडा गाउँकी आरती भण्डारीको हो ।

छिनमै पानी पर्ने, छिनमै कुहिरोले ढाकिने घनघस्याको लेकजस्तै चिसो सपना बोकेर आरती भण्डारी गोठालो हिँडेकी छिन् । “बुवाका हात राम्ररी चल्दैनन् । घरमा अन्न छैन, आरतीले भनिन्, “फाटेको एउटा सुरुवाल थियो, त्यो पनि गाईले खाईदियो । मसँग अन्य लुगा छैन । त्यसैले नाङ्गै हिँडेकी हुँ ।”

आरतीका १२ वर्षीय दाइ पारस भण्डारीसँग पनि अरुले दिएको जिउमा नमिल्ने एकदमै लामो एकसरो जडौरी लुगा मात्र छ । बहिनीसँगै गाई चराउन घनघस्याको लेकमा भेटिएका पारस भण्डारीले लुगा किनीदिनू भन्दा बुवाले गाली गर्ने गरेको बताउनुभयो । “घरमा दुई जना अरु भाइबहिनी पनि छन् । एकछाक खान त पुग्दैन ! लुगा कसले किनिदिन्छ र ?” पारसले भन्नुभयो ।

बैतडीको पाटन नगरपालिकासँग जोडिएको डडेल्धुराको अजयमेरु गाउँपालिका-१, खतेडा गाउँका यी बालबालिकाको भविष्य घनघस्याको उकालोजस्तै कठिन बनेको छ । पढ्ने, लेख्ने र खेल्दै रमाउने उमेरमा दुःखको पहाड बोकेर भोकै नाङ्गै हिँड्नुपरेको छ ।

आरतीको गाउँनजिकै घनघस्या माध्यमिक विद्यालय छ तर नौ वर्षीय आरती भण्डारीले अहिलेसम्म विद्यालय टेक्न पाउनुभएको छैन । स्थानीय तहको सरकारले गाउँमा डोजर ल्याएर सडक खनेको छ तर, गरिब, विपन्न बालबालिको शिक्षा, खानपान र भविश्यको बारेमा केही नगरेको बालिकाका बुवा नारसिंह भण्डारीले बताउनुभयो ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेल्धुराको अजयमेरु गाउँपालिकामा भोकमरी र गरिबीले बालबालिकाको यस्तो अवस्था रहेको स्थानीय विद्यार्थी पवन भण्डारीले बताउनुभयो । अरु पार्टीले गर्न नसकेको काम आफूले गर्ने प्रतिबद्धता जनाएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) डडेल्धुराका युवा नेता उमेश भट्ट (विकास)ले स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिकाको अध्यक्ष जित्नुभयो । चुनाव जितेपछि नेकपाका नेता भट्टले पनि गरिब निमुखाको लागि केही काम गर्न नसकेको स्थानीय दीपकसिंह भण्डारीले बताउनुभयो । “अध्यक्ष भट्टले गाउँमा सडक पुर्याउने काम गरे पनि गाडी चल्दैनन्”, भण्डारीले भन्नुभयो ।

स्थानीय तहको निर्वाचनमा अजयमेरु गाउँपालिका-१, को वडा अध्य पदमा निर्वाचित नेपाली काँग्रेसका स्थानीय नेता दत्ती भण्डारीले बालबालिको अवस्था नाजुक भएको बताउनुभयो । वडा अध्यक्षमा चुनाव जितेपछि गरिब, विपन्नका लागि योजना बनाउने सोच बनाए पनि गर्न नसकको भण्डारीले स्वीकार गर्नुभयो ।

खान लगाउन समस्या भएर नाङ्गै हिँडेकी आरती भण्डारीको विषयमा वडा कार्यालयबाट गाउँपालिकामा अहिलेसम्म कुनै जानकारी नआएको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास) ले बताउनुभयो । “बालालिकाको बारेमा तुरुन्तै बुझेर गाउँपालिकाबाट हुन सक्ने सहयोग गर्छौं” अध्यक्ष भट्टले भन्नुभयो । गोरखापत्र अनलाईनबाट

Facebook Comments