Fri. Apr 19th, 2024

नेकपाका दुई अध्यक्षबीच वार्ता, खनाल र नेम्वाङ पनि सहभागी

काठमाडौं, २०७७ साउन २० गते मंगलबार

पार्टी भित्र विद्यमान संकट अन्त्यको प्रयासका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा वार्ता शुरुभएको छ । 
गत आइतबारदेखि नियमित भइरहेको दुई अध्यक्षबीचको बार्ता सकारात्मक ढङ्गले अघि बढिरहेको नेकपाका नेताहरुको बुझाई छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार बालुवाटारमा साँझ ५ बजेपछि शुरुभएको वार्तामा वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पनि सहभागिता छ । अध्यक्षद्वयबीच साउन १३ गतेपछि बार्तार र संवाद हुन सकेको थिएन । १८ गतेदेखि नियमित छलफल हुन थालेपछि समस्या समाधान हुनेमा नेकपाका नेता तथा कार्यकर्ता आशावादी हुन थालेका छन् ।
सोमबारको बैठकमा ‘जेरी’ को चर्चा राम्रोसँग चल्यो । आज मंगलबारको बैठकमा ‘तिते करेली’ खाएर मीठो सहमति गर्ने जनाउ प्रधानमन्त्री ओलीले सोमबार आफ्नै निवास बालकोटमा नेता कार्यकर्तासँगको भेटघाटमा भन्नुभएको थियो । जेरी खाएर शुरु गरेको वार्ता संवाद मीठो हुन नसकेपछि तिते करेली खाएर मीठो परिणाम निकाल्ने ठट्टा प्रधानमन्त्री ओलीले गर्नुभयो ।
असार १० देखि शुरुभएको नेकपा स्थायी कमिटी बैठक टुङ्गोमा पुग्न सकेको छैन । अझै स्थायी कमिटीका आधा संख्यामा सदस्यहरु बोल्न बाँकी हुनुहुन्छ । अध्यक्ष प्रचण्ड पक्षका नेताहरुले भने केन्द्रीय कमिटी बैठकको लिखित माग गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले कोरोनाका बेला केन्द्रीय कमिटी बैठक बस्न उचित नभएकोभन्दै अस्वीकार गर्दैआउनुभएको छ । गोरखापत्र अनलाईनबाट
Facebook Comments