भुटानी नरेशद्वारा स्वयम्भूनाथ दर्शन
काठमाण्डू, २०८१ मंसिर २१ गते शुक्रबार । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गर्नुभएको छ ।
यसअघि स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गर्नुभएको थियो । करिब आधा घण्टा त्यहाँ रहनुभएको भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाण्डू उपत्यकाको दृश्यावलोकन गर्नुभयो ।
आज बिहान नेपाल आइपुग्नुभएका भुटानी नरेशको स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गर्ने कार्यक्रम छ । भारतबाट स्वदेश फर्कने क्रममा काठमाण्डू आउनुभएका भुटानी नरेश आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राजा जिग्मे खेसर नाम्गेल वाङचुकको सन् १९८० मा काठमाण्डू थापाथलीस्थित प्रसूति गृहमा जन्म भएको थियो । उहाँकी आमा छिरङ योङ दोनलेको इच्छाअनुसार उहाँको जन्म नेपालमा भएको हो । तत्कालिन अवस्थामा नेपालमा सुविधा सम्पन्न र राम्रो अस्पताल भएकाले पनि तत्कालिन रानीको प्रसूति नेपालमा गराइएको भनाइ छ । तत्कालिन रानी छिरङले हलेसी महादेवको मन्दिरमा पूजा गरेपछि पुत्रका रुपमा जिग्मेको जन्म भएको पनि बताइन्छ । तत्कालिन राजा बीरेन्द्र र भुटानी राजपरिवारकाबीचमा घनिष्ठ सम्बन्ध थियो । बर्तमान राजा ज्ञानेन्द्र बीर बिक्रम शाहदेवले पनि केही समय अघि भुटानको भ्रमणका क्रममा राजा जिग्मेसँग भेटघाट भएको थियो ।