Sat. Jan 11th, 2025

काठमाण्डूमा “नि हाओ चाइना पर्यटन प्रवर्द्धन” कार्यक्रमको आयोजना

रमेश हतुवाली/काठमाण्डू, २०८१ मंसिर १९ गते बुधबार । काठमाण्डूमा “नि हाओ चाइना पर्यटन प्रवर्द्धन” कार्यक्रमको आयोजना गरिएको छ । आज चिनियाँ राष्ट्रिय पर्यटन कार्यालय काठमाण्डू, एयर चाईना, चाईना साउदन एयरलायन्स र चाईन इस्टर्न एयरलायन्स काठमाण्डू कार्यालयको आयोजनामा सो कार्यक्रम सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा बोल्नुहुँदै नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रका निर्देशक स्याओ च्याङले चाइना पर्यटन प्रवद्र्धन कार्यक्रममार्फत नेपालका पर्यटन व्यवसायी र सो क्षेत्रका प्रतिनिधिहरुले चिनियाँ पर्यटनका स्रोतहरुका साथै चिनियाँ पर्यटन प्रवद्र्धन सम्बन्धि नीतिहरुको बारेमा राम्रो जानकारी हासिल गर्न सहयोग पुग्ने बताउनुभयो । साथै उहाँले यस कार्यक्रमको माध्यमबाट दुवै देशका पर्यटन व्यवसायी र यससँग सम्बन्धित पक्षहरुले आआफ्ना अनुभव आदान प्रदान गर्दै चीन र नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

स्याओ च्याङ, निर्देशक, चिनियाँ सांस्कृतिक केन्द्र नेपाल

कार्यक्रममा बोल्नुहुँदै एयर चाईना काठमाण्डू कार्यालयका व्यवस्थापकचाङ स्वे सङले ६९ वर्ष पहिले स्थापना भएको चीनको एकमात्र राष्ट्रिय ध्वाजवाहक एयर चाइना स्टार एयरलायन्सको सदस्यता प्राप्त संस्था रहेको जानकारी दिनुभयो । व्यवस्थापक चाङ स्वे सङले एयर चाईनाले ९ सय ४५ वटा ग्रुप फिल्ट साईज र १ सय ५४ वटा ठूला विमानबाट सन् २०२४ को अक्टोबर सम्ममा १ सय १७ वटा अन्तर्राष्ट्रिय र क्षेत्रीय रुटमा सेवा दिइरहेको बताउनुभयो । हाल एयर चाईनाले विश्वका ६३ वटा देशका ६४ वटा शहरहरुमा सेवा प्रभाव गरिरहेको बताउनुभयो । साथै उहाँले निकट भविष्यमै सि ९१९ विमानद्वारा काठमाण्डू उडान गर्ने योजना रहेको जानकारी पनि दिनुभयो ।

चाङ स्वेसङ, व्यवस्थापक, एयर चाईना, काठमाण्डू कार्यालय

चाईना साउदन एयरलायन्स काठमाण्डू कार्यालयका प्रबन्ध निर्देशक याङ वेनफूले विश्वव्यापी रुपमा देखापरेका हवाई उडान सम्बन्धि चुनौतीहरुलाई पार गर्दै चाईना साउदनले महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको जानकारी दिनुभयो । ९ सय ११ वटा अत्याधुनिक सुविधा सम्पन्न विमानहरुद्वारा चाईना साउदनले विश्वका अधिकांश देशहरुमा सुरक्षित र भदपर्दो उडान सेवा सञ्चालन गरेको जानकारी दिनुभयो ।

याङ वेनफू, प्रबन्ध निर्देशक, चाईना साउदन एयरलायन्स, काठमाण्डू कार्यालय

कार्यक्रममा बोल्नुहुँदै चाईन इस्टर्न एयरलायन्स काठमाण्डू कार्यालयका प्रबन्ध निर्देशक चाङ् यीले ८०० वटा अत्याधुनिक सुविधा सम्पन्न विमानमार्फत सो एयरलायन्सले विश्वका १ सय ६६ वटा देशहरुमा नियमित उडान गरिरहेको जानकारी दिनुभयो । चाईना इस्टर्न एयरलायन्सले प्रतिवर्ष १ सय ५० मिलियन यात्रुहरुलाई सेवा दिएर विश्वमा धेरै यात्रु उडान गर्ने विमान कम्पनीको सूचिको दशौं स्थानमा पर्न सफल भएको पनि बताउनुभयो ।

चाङ् यी, प्रबन्ध निर्देशक, चाईन इस्टर्न एयरलायन्स, काठमाण्डू कार्यालय

सो समारोहमा चीनको क्वाङसी क्वाङता टुरिजम् इन्भेस्टमेन्ट कम्पनीका प्रबन्ध निर्देशक फू वेह्वा र सछुवान मिङयान इन्टरनेस्नल ट्राभल एजेन्सीका प्रबन्ध निर्देशक चाङ थाओले चीनका विश्व प्रसिद्ध पर्यटकीय स्थल, महत्वपूर्ण शहर र चीनमा सञ्चालनमा रहेका हवाई, सडक र रेल यातायातका बारेमा जानकारी दिनुभयो ।


त्यसैगरी चिनियाँ राष्ट्रिय पर्यटन कार्यालय काठमाण्डूका तर्फबाट मोहन प्रसाद सुवालले नेपाल र चीनका विविध पर्यटकीय तथा ऐतिहासिक स्थलहरुको डकुमेन्ट्री मार्फत दुवै देशको पर्यटन प्रवद्र्धनका लागि भैरहेका गतिविधीहरुबारे जानकारी दिनुभयो ।


सो समारोहमा गोलाप्रथा मार्फत ३ जना भाग्यमानी नेपाली विजेताहरुले चीन भ्रमण गर्ने दोहोरो हवाई टिकट समेत जित्न सफल हुनुभएको छ ।

कार्यक्रममा नेपाली ट्राभल एजेन्ड, टिकट एजेन्टका प्रतिनिधीहरुका साथै चीनको क्वाङ्सी क्वाङ्ता पर्यटन लगानी कम्पनी लिमिटेड, सछुवान मिङ्यान अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी र चीनको तिब्बत यती अन्तर्राष्ट्रिय ट्राभल सर्भिसका प्रतिनिधीहरु समेत गरी झण्डै दुईसय जनाको सहभागीता रहेको थियो ।

Facebook Comments