Wed. Jan 8th, 2025

रूसी विदेशमन्त्री लाभरोभको ट्रम्पका सहयोगी कार्लसनसँग अन्तर्वार्ता   

वासिङ्टन,२०८१ मंसिर १९ गते बुधबार । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी तथा फक्स न्यूजका पूर्वप्रस्तोता टकर कार्लसनले मस्कोमा रूसी विदेशमन्त्री सर्गेई लाभरोभसँग अन्तर्वार्ता लिएको मङ्गलबार घोषणा गर्नुभएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमा गरेको आक्रमणपछि कार्लसन रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अन्तर्वार्ताका लागि मस्को जानुभएको थियो ।

कार्लसनले मङ्गलबार आफ्नो सामाजिक सञ्जाल र वेबसाइटमा प्रकाशित एक भिडियोमा वासिङ्टन र मस्कोबीच बढेको तनावबारे प्रकाश पार्न आफू रूसमा पुगी समसामयिक बिषयमा लाभरोभसँग छलफल भएको बताउनुभएको छ ।

कार्लसनल अन्तवार्ता प्रशारण गर्ने तिथि सावैजनिक नगरिकन भन्नुभएको छ, “हामी भर्खर त्यो अन्तर्वार्ता लिएर आएका छौँ । अन्तवार्ता एकदम आकर्षक र सान्दर्भिक छ छ। यो धेरै चाँडै आउँदैछ।”

एएफपीका अनुसार कार्लसनले आफुले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग अन्तर्वार्ता लिन खोजेको तर अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले रोकेको आरोप पनि लगाउनुभएको छ ।

डेमोक्र्याट, तथाकथित ‘जागृत’ प्रदर्शनकारी र साम्यवादको आक्रमणमा फसेको संयुक्त राज्य अमेरिका पतनको बाटोमा रहेको राष्ट्रको रूपमा चित्रण गर्न कार्लसनले वर्षौं बिताउनुभएको छ । उहाँले अमेरिकी फक्स न्यूज छोडेपछि अमेरिकामा विद्यमान सामाजिक प्रणालीमा षडयन्त्रका सिद्धान्तहरूबारे सचेतना जगाउँदै आउनुभएको छ ।

केबल नेटवर्कमा उहाँको प्रसिद्ध कार्यक्रमको प्रशारण अप्रिल २०२३ देखि रोकिएकोे थियो ।

कार्लसनले त्यसपछि यस पहिले ट्वीटरका रूपमा चिनिँदै आएको सामाजिक सञ्जाल एक्समा कार्यक्रमहरू प्रसारण गर्दै आउनुभएको थिया । अहिले उहाँको आफ्नै ‘स्ट्रिमिङ प्लेटफर्म’, टकर कार्लसन नेटवर्क छ।

Facebook Comments