Fri. Apr 26th, 2024

नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्ष, प्रधानमन्त्री ओलीद्वारा बधाई

काठमाडौं, २०७७ साउन १७ गते शनिबार

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औँँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि खछ्याङलाई बेग्लाबेग्लै बधाई सन्देश पठाएर हार्दिक बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले आज दुईवटा छुट्टाछुुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उहाँहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताउनुभएको छ ।

गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गर्नुभएको छ ।

पारवहन यातायात सम्झौतासहित त्यसको सन्धिपत्र, नेपाल-चीन सीमापार रेलसेवा परियोजनाको सम्भाव्यता अध्ययनका साथै भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल विस्तारका सम्बन्धमा भ्रमणका बेला भएका द्विपक्षीय सम्झौता पारस्परिक सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण हुने उहाँले बताउनुभएको छ ।

चीनले अघिसारेको एकक्षेत्र एकमार्ग (वेल्ट एण्ड रोड) परियोजनाको सराहना गर्दै प्रधानमन्त्री ओलीले उक्त परियोजना र त्यसमा समाहित हिमालयपार बहुआयमिक सम्पर्क सञ्जालसहितका मुख्य अंशले नेपाललाई आफ्नो विकासका कार्यक्रम अघि बढाउन महत्वपूर्ण अवसर प्रदान गर्ने सन्देशमा उल्लेख गर्नुभएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना नेपाली समकक्षी विद्यादेवी भण्डारीलाई पठाउनुभएको बधाई सन्देशमा दुवै देशले एकअर्कालाई ससम्मान समान व्यवहार गर्दै आएका बताउनुभएको छ । उहाँले चीन र नेपालबीच ६५ वर्षअघि कूटनीतिक सम्बन्ध स्थापना भएयता पारस्परिक राजनीतिक विश्वास सुदृढ हुनाका साथै आपसी लाभका खातिर सहयोगात्मक सम्बन्ध घनिभूत भएको बताउनुभएको छ ।

चीन–नेपाल सम्बन्धलाई अग्रगामी तुल्याउन, दुवै देशका जनतालाई विकासका बृहत् प्रतिफलबाट लाभान्वित बनाउन र यस क्षेत्रको विकास एवं स्थायित्वका निम्ति रचनात्मक योगदान गर्न नेपालसँग सहकार्य गर्न आफू तत्पर रहेको राष्ट्रपति सीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

यसैगरी प्रधानमन्त्री लीले आफ्ना नेपाली समकक्षी ओलीलाई पठाउनुभएको सन्देशमा चीन र नेपाल पर्वत र नदीले जोडिएका छिमेकी हुन् भन्दै बितेका ६५ वर्षमा चीन र नेपालबीचको सम्बन्ध र सहयोग सन्तुलित एवं सुव्यवस्थित ढङ्गले अविच्छिन्न रुपमा विकसित भएको बताउनुभएको छ ।

चिनियाँ प्रधानमन्त्रीले एकक्षेत्र एकमार्ग परियोजना प्रवद्र्धनलगायत विविध क्षेत्रमा बहुआयमिक आपसी सहयोगलाई सबल बनाउन तथा द्विपक्षीय सम्बन्धलाई नवीन चरणमा पु¥याउन नेपाली पक्षसँग सहकार्य गर्ने चाहना व्यक्त गर्नुभएको छ ।

यसै अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्ना चिनियाँ समकक्षी वाङ यीलाई पठाउनुभको बधाई सन्देशमा द्विपक्षीय सम्बन्ध विस्तारमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको प्रशंसा गर्नुभएको छ । भविष्यमा नेपाल र चीनबीचको सम्बन्धले नयाँ उचाइ हासिल गर्ने विश्वास मन्त्री ज्ञवालीले व्यक्त गर्नुभएको छ ।

त्यसैगरी विदेशमन्त्री वाङले विकास र समृद्धिका लागि चिरस्थायी मैत्री दर्शाउने चीन-नेपाल रणनीतिक साझेदारीयुक्त सहयोगमा रचनात्मक योगदान गर्न तथा आपसी सहयोग एवं सम्पर्क विस्तारका साथै दुवै देशको उच्च नेतृत्वबीच भएका महत्वपूर्ण सहमति-समझदारीको कार्यान्वयनका निम्ति मन्त्री ज्ञवालीसँग सहकार्य गर्ने अभिलाषा सन्देशमा व्यक्त गर्नुभएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments