Tue. Jan 7th, 2025

चीनको प्रगती रोक्ने रणनीति अनुरुप अमेरिकाले एमसीसी परियोजना ल्याएको पूर्वप्रधानमन्त्री खनालको धारणा

रमेश हुतवाली/काठमाण्डू । अमेरिकी सहयोग परियोजना (एमसीसी) आर्थिक सहयोगको परियोजना नभइ अमेरिकाको सुरक्षा रणनीतिसँग जोडिएको परियोजना भएको विज्ञहरुले बताएका छन् ।

ट्राई कन्टिनेन्टल र त्रैमासिक प्राज्ञिक पत्रिका बामपन्थद्वारा आज काठमाण्डूमा आयोजित नेपालको सार्वभौमिकताको लडाइँ, एमसिसी र चीनविरुद्ध अमेरिकाको नयाँ शीतयुद्ध विषयक अन्तरक्रियमा बोल्दै विज्ञहरुले सो विचार व्यक्त गरेका हुन् ।

अमेरिकी सहयोग परियोजना (एमसीसी) आर्थिक सहयोगको परियोजना नभएको विज्ञहरुको भनाइ, चीनको प्रगती रोक्ने रणनीति अनुरुप अमेरिकाले एमसीसी परियोजना ल्याएको पूर्वप्रधानमन्त्री खनालको धारणा ।।

अन्तरक्रियमा सहभागी हुँदै पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत) समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफ्नो विगतको विश्वव्यापी प्रभावलाई कायम राख्दै नवउदयीमान चीनको प्रगती रोक्ने रणनीति अनुरुप अमेरिकाले एमसीसी परियोजना ल्याएको बताउनुभयो । नेता खनालले नेपालको संसदले एमसीसी पास गर्दा जारी गरेको व्याख्यात्मक टिप्पणीले नेपाली जनतालाई भ्रममा पारेको जानकारी पनि दिनुभयो ।

झलनाथ खनाल, पूर्वप्रधानमन्त्री

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले एमसीसी कुनै आर्थिक सहयोगसँग जोडिएको परियोजना नभएको बताउनुभयो । एमसीसी अमेरिकी रणनीतिक स्वार्थसँग जोडिएको परियोजना भएको उल्लेख गर्नुहु्ँदै नेता श्रेष्ठले एमसीसी पास गरेपछिको परिस्थितीलाई विश्लेषण गर्दै नेपाल शक्ति राष्ट्रको अखडा बन्न सक्ने हो कि भनि चिन्ता व्यक्त गर्नुभयो ।

नारायणकाजी श्रेष्ठ, नेता, नेकपा माओवादी केन्द्र

चीनका लागि पूर्व नेपाली राजदूत डाक्टर महेश मास्केले एमसीसी नेपालको इतिहासमै सबैभन्दा विवादित सम्झौता भएको बताउनुभयो । डा. मास्केले एमसीसी अमेरिकाको अत्यन्त ठूलो दबाबबाट नेपालले पास गरेको पनि बताउनुभयो ।

डा. महेश मास्के, चीनका लागि पूर्व नेपाली राजदूत

अन्तरक्रियामा ट्राई कन्टिनेन्टलका तर्फबाट विजय प्रसाद र वरिष्ठ लेखक तथा कुटनीतिज्ञ हिरण्यलाल श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विविध पक्षबारेमा बोल्नुभएको थियो ।

Facebook Comments