Thu. Jan 9th, 2025

बाढीले बगर बनाएको खेत पुनः खेतीयोग्य बनाउने प्रयास

कमलामाई (सिन्धुली), २०८१ मंसिर १३ गते बिहीबार । गत असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले सिन्धुली जिल्लाका धेरै खेतीयोग्य जग्गा बगरमा परिणत भएका छन् ।

यो दृश्य हो, सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिकाको, जहाँ गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण रोशी खोला र सुनकोसी नदीमा आएको विनासकारी बाढीले आठ सय ७७ रोपनी खेतियोग्य जमिनलाई बगरमा परिणत ग¥यो । पाकेर पहेंलपुर भएकोे धानबाली किसानले भित्त्र्याउन पाएनन् । खेतमा लहलह भएर झुलेको धान बाढीसँगै आएको बालुवाले पुरिदियो ।

यतिबेला भने बाढी प्रभावित किसान बालुवा र गेग्रानले ढाकेको आफ्नो खेतलाई फेरी उत्पादनशिल बनाउन जुटिरहेका छन् । यसका लागि किसानलाई सघाइरहेको छ, स्थानीय सरकारले ।

सुनकोसी नदी किनारमा रहेका खेतियोग्य जमिन संरक्षणका लागि बृहत तटबन्धन आयोजना संचालन गर्न प्रदेश र संघिय सरकारलाई अनुरोधसमेत गरिएको गोलञ्जोर गापा प्रमुख, शंकर राज बरालले बताउनभयो ।

बाढीले बगर बनाएको खेतलाई पुनः उत्पादनशिल बनाउन स्थानीय सरकारको सहयोग पाएपछि किसानमा नयाँ आशा पलाएको छ । यहाँका केही किसान यसै हप्ताभित्र तोरी बाली लगाउने तयारीमा समेत छन् । किसानको संर्घष र स्थानीय सरकारको सहयोगले गोलञ्जोर गाउँपालिकामा बाढीले पु-याएको क्षतिलाई कम गर्न राहत मिलेको छ । तर, दीर्घकालीन रुपमा खेतलाई संरक्षण गर्नुका साथै उर्वर बनाउँदै किसानको आयस्तरमा सुधार गर्न तीनै तहका सरकारले थप रणनीतिक योजना बनाएर काम गर्न आवश्यक देखिन्छ । अर्कोतिर खोला र नदी किनाराका खेतबालीहरुमा अन्न लगाउँदा सँधै सुरक्षित भइन्छ भन्ने पनि छैन । त्यसैले विगतका अनुभवहरुबाट सिक्दै अघि बढ्नु आजको आवश्यकता हो । रासस

Facebook Comments