कोशी प्रदेशका पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय
भिओके समाचार/काठमाण्डू, २०८१ मंसिर १० गते सोमबार । कोशी प्रदेशका पूर्वमन्त्री तथा प्रदेश सांसद लिलाबल्लभ अधिकारीको संलग्नताको आशङ्का गरिएको मानव तस्करी प्रकरणमा अधिकारीविरुद्ध मुद्धा नचल्ने भएको छ ।
मानव तस्करीको आशङ्काको आरोपमा पक्राउ पर्नुभएका पूर्वमन्त्री अधिकारीमाथि जिल्ला सरकारी वकिलको कार्यालयबाट मुद्दा नचलाउने निर्णय भएको हो । अधिकारी विरुद्ध मुद्दा चलाउन पर्याप्त आधार र प्रमाणहरु नदेखिएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय, काठमाण्डूले मुद्दा नचलाउने निर्णय गरेको जिल्ला न्यायाधीवक्ता सिताराम रिजाललाई उद्धत गर्दै सञ्चारमाध्यमहरुमा समाचार प्रकाशित भएका छन् । अधिकारी बाहेक अन्य बाँकी ११ जनाविरुद्ध भने जिल्ला अदालत, काठमाण्डूमा मुद्दा दर्ता गरिएको छ । पूर्वमन्त्री अधिकारीले नेपाल प्रहरीका डीआईजी चन्द्रकुवेर खापुङ र राजन अधिकारीलाई पठाएको म्यासेज र त्रिभूवन अन्तर्राष्टिय विमानस्थलको सिसिटीभि फुटेज लगायतका प्रमाणहरुलाई आधार बनाउँदै उहाँ विरुद्ध मुद्धा नचलाउने निर्णय भएको हो ।
तत्कालिन मन्त्री अधिकारी जापानको टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको कला, संस्कृति तथा पर्यटनसम्वन्धि कार्यक्रममा सहभागी हुन भन्दै कात्तिक ११ गते मा जापान जानुभएको थियो । तर मन्त्री अधिकारीसँगै जापान गएका भनिएका खोटाङको केपिलासलगढी गाउँपालिका-४ का ४१ वर्षीय जनक राई, रसुवाको कालिका गाउँपालिका-५ का २१ वर्षीय कञ्चन देवकोटा र खोटाङको ऐसेलुखर्क गाउँपालिका-२ का ३७ वर्षीय दावा शेर्पा र नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए । त्यसक्रममा मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो । पूर्वमन्त्री अधिकारीले नारिता विमानस्थलको अध्यागमनमा आफूलाई गरिएको निमन्त्रणा र आफु सहभागी हुने कार्यक्रमबारे शंका लागेपछि नेपालस्थित प्रहरी अधिकृतहरु र नारिता विमानस्थलको अध्यागमन कार्यालयका अधिकारीहरुलाई जानकारी गराएको रे न्यूज डेलीलाई बताउनु भएको थियो ।
चौतर्फी दबाबपछि प्रहरीले सो विषयमा थप अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै पूर्वमन्त्री अधिकारीलाई कात्तिक २५ गते विराटनगरस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसर, काठमाण्डूमा हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
पूर्वमन्त्री अधिकारीमाथि मुद्धा नचल्ने निर्णय भए पनि सो सम्बन्धि जानकारी जिल्ला प्रहरी परिसर काठमाण्डूमा पुगिनसकेको एक प्रहरी अधिकृतले रे टेलिभिजनलाई बताएका छन् । जानकारी प्राप्त भएपनि प्रक्रिया पुरागरी उहाँलाई रिहा गरिने ती अधिकृतको भनाइ छ ।