Sun. Jan 12th, 2025

सुन्तोला खेतीबाट डिलबहादुरको कमाई दश लाख

म्याग्दी, २०८१ मंसिर ९ गते आईतबार । १३ वर्षअघि अंश वापत पाएको पाँच रोपनी धान फल्ने खेतमा सुन्तोलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए ।

४४ वर्षीय केसीलाई त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तोला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् । २० रोपनी पाखोबारी र खेतमा चार सय ५० बोट सुन्तोला लगाएका केसीले यसपाली रु. १० लाखको सुन्तोला बिक्री भइसकेको र थप रु. चार लाखको सुन्तोला बिक्री गर्न बाँकी रहेको बताउनुभयो ।

पाँच वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका केसीले सुन्तोला खेतीका साथै के.सी. मौरीपालन स्रोत केन्द्र सञ्चालन गरेर वार्षिक दुई सय देखि तीन सय मौरी सहितको घार बिक्री गर्नुहुन्छ । सुन्तोला र मौरीको आम्दानीले बागलुङमा पक्की घर बनाएका केसीले दुई छोरीलाई उच्च शिक्षा पढाउनुभयो । एक छोरा र छोरी निजी विद्यालयमा मावि तहको अध्ययन गर्दैछन् ।

ब्यापारीले अग्रिम पैसा दिएर सुन्तोला किनेर लैजाने गरेका छन् । सुन्तोला खेती र मौरीपालनबाट केसीको जीवनशैलीमा परिवर्तन आएको छ । छोराछोरी र श्रीमतिले केसीलाई कृषि फार्ममा साथ दिएका छन् । केसीको सिको गरेर सुर्केमेलाका १६ जना कृषकहरुले ब्यवसायिक सुन्तोलाखेती गरेका छन् । रासस

Facebook Comments