Fri. Nov 22nd, 2024

सम्मान र पुरस्कारले उत्साहित पूजा

महोत्तरी, २०८१ मंसिर ६ गते बिहाबार ।  यु-१९ महिला क्रिकेट टोलीकी कप्तान पूजा महतोलाई अहिले सम्मान तथा पुरस्कार ग्रहण गर्न भ्याइनभ्याइ भएको छ । हालै युनाइटेड अरब इमिरेट्स (युएई) मा यु-१९ महिला टी-२० विश्वकप प्रतियोगितामा छनोट भइ घर फर्केदेखि पूजालाई भेट्ने, बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लागेको छ ।

 काठमाण्डू  हुँदै शुक्रबार आफ्नो घर महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवाना पुगेकी पूजालाई त्यसयता दिनहुँ बधाई दिने र सम्मान तथा पुरस्कार दिनेको लाम लाग्ने गरेको छ । शुक्रबार पूजालाई कुशवाहा कल्याण समाजका अध्यक्ष विजयकुमार महतोसहितका पदाधिकारीले सम्मानपत्र र रु ५१ हजार नगद पुरस्कार प्रदान गरेका थिए । सोही दिन गौशाला नगरक्षेत्रका बस्ती बस्तीमा दीपावली गरेर नगरबासीले खुशी व्यक्त गरेका थिए ।

यसैगरी शनिबार र आइतबार दिनभरि पूजालाई भेट्नेको उनको घरमा घुइँचो लागेको थियो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव गिरिराजमणि पोखरेलदेखि जिल्लाका विभिन्न राजनीतिक दलका नेता, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, विभिन्न खेलका खेलाडी र सयौँ सर्वसाधारणले उनलाई बधाई दिँदै यु-१९ महिला टी-२० एसिया कप र विश्वकपको शुभकामना दिएका थिए ।

गत सोमबार पूजालाई एनपिएल टोली जनकपुरधाम बोल्ट्सले ‘फेस अफ दी बोल्ट्स’ को रुपमा सार्वजनिक गरेको छ । एक समारोहबीच उक्त टोलीले उनलाई रु ५० हजार पुरस्कार प्रदान गरेको थियो । सोमबार नै गौशाला नगरबासीले पूजाको शोभायात्रा सम्पन्न गरेका छन् । विशेष रुपले सजाइएको रुथरुपी सवारीमा पूजा र उनका परिवारजनलाई राखेर गौशाला नगरपालिकाका सबै बस्तीमा घुमाइएको थियो । शोभायात्रामा गौशाला-२ घर भएका सांसद लक्ष्मी महतो कोइरी, गौशाला नगरप्रमुख डा दिपेन्द्र महतोसहित जनप्रतिनिधि, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, खेलाडी तथा सर्वसाधारण सहभागी थिए ।

मङ्गलबार गौशाला नगरपालिकाले पूजालाई सम्मान गरेको थियो । नगरप्रमुख डा दिपेन्द्र महतोले पूजालाई रु एक लाख ५१ हजार प्रदान गरेका थिए । उनलाई मङ्गलबार नै मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोदकुमार जयसवालले डुमरवानास्थित उनको घरमै पुगेर बधाई दिएका थिए । “प्रदेश सरकार खेलाडीहरुका साथमा छ, मधेश सरकार खेलक्षेत्रको विकासका लागि हरसम्भव प्रयत्न गरिरहनेछ”, मन्त्री जयसवालले पूजालाई बधाई दिँदै भने ।

बुधबार पनि पूजाको डुमरवानास्थित घरमा उनलाई भेट्ने, बधाई दिने र सम्मान पुरस्कार दिनेको लाम देखिन्थ्यो । रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटल प्रालिका सञ्चालक र चिकित्सकहरुको टोलीले उनको घरमै पुगेर रु ११ हजार पुरस्कार प्रदान गरेको थियो ।

“विश्वकपमा उत्कृष्ट खेल प्रदर्शन तथा एशिया कप उचाल्ने अबको लक्ष हो”, पूजाले बधाई दिन आउनेलाई जवाफ दिने गरेकी छिन् । “अहिले हामीप्रति आम रुपमा दर्शाइएको सकारात्मक चासोले अब झन राम्रो गर्नुपर्ने दायित्वबोध भएको छ”, पूजा भन्छिन, “सबैको प्रेम र हौसलाले उर्जा थपेको छ ।”

पूजासहित नेपाली महिला क्रिकेट टोलीको सफलताले उनका बुबा रञ्जित महतो औधी खुसी छन् । “पूजा अब देशकी छोरी हुन्, उनले देशको नाम विश्वभर चिनाउने छिन”, उनले भने । रञ्जितका तीन छोरी र एक छोरासहित चार सन्तान हुन् । जेठी छोरी अञ्जुबाहेक सबै क्रिकेट खेलाडी हुन् । पूजाको सफलताले कान्छी छोरी आरती र छोरा कृष्ण पनि क्रिकेट खेलप्रति अझ उत्साहित भएका छन् । रासस

Facebook Comments