Fri. Nov 22nd, 2024

शेयर बजारमा उच्च अंकको गिरावट

काठमाण्डू, २०८१ मंसिर ६ गते बिहाबार ।  शेयर बजारमा आज उच्च अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३१‍.३१ अ‌ंकले घटेसँगै २७०० विन्दुभन्दा तल झरेको छ। साताको अन्तिम कारोबार दिन आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ८ अर्ब २५ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

आज सामुदायिक लघुवित्त वित्तीय संस्था र थ्री स्टार हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, माहुली लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ५ प्रतिशतले बढेको छ । जानकी फाइनान्सको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २५ करोड २४ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, ङादी ग्रुप पावरको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने रसुवागढी हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे १९ करोड नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.८६ प्रतिशतले घटेको छ । यसैगरी, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

Facebook Comments