Sun. Dec 22nd, 2024

कृषि प्राविधिकका निम्ति क्षमता अभिवृद्धि तालिम सुरु

- मुना कृषि लिमिटेड

रमेश हतुवाली/काठमाण्डू, २०८१ मंसिर ३ गते सोमबार । कृषि प्राविधिकका निम्ति कृषि खाद्य प्रणाली रुपान्तरण सम्बन्धी ३ दिने क्षमता अभिवृद्धि तालिम ललितपुरमा सुरु भएको छ । नेपालस्थित संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठनको आयोजना र मुना कृषि लिमिटेडको परिकल्पना तथा व्यवस्थापनमा सुरु भएको सो तालिममा ७ वटै विकास क्षेत्रका कृषि क्षेत्रसँग सम्बन्धित ३४ जना प्राविधिहरुको सहभागिता रहेको छ ।

तालिम उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदैनेपालस्थित संयुक्त राष्ट्र संघ अन्तर्गत खाद्य तथा कृषि संगठनका प्रमुख केन सिमिजुले नयाँ पुस्तामा कृषि क्षेत्रप्रतिको आकर्षण कम हुँदै जानु चिन्ताको विषय भएको बताउनु भयो । नयाँ पुस्तालाई कृषि क्षेत्रमा आकर्षण गर्नु आवश्यक रहेको बताउनुहुँदै सिमिजुले जलबायु परिवर्तनले कृषि क्षेत्रमा पारेको असर लगायतका विभिन्न विषयमा चर्चा गर्नुभयो । साथै उहाँले मुना कृषिले छोटो समयमा हासिल गरेका उपलब्धिहरु महत्वपूर्ण रहेको भन्दै नेपालको कृषि क्षेत्रको विकासमा निरन्तर सहयोग गर्ने बताउनुभयो ।

केन सिमिजु, नेपालस्थित खाद्य तथा कृषि संगठनका प्रमुख

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. हरि बहादुर केसीले स्थानीय उत्पादन र स्थानीय बजारलाई जोड दिनुपर्ने बताउनु भयो । स्थानीय तहले कृषि क्षेत्र विकासको नीति, आवधिक योजना र कानुनी संरचना तयार गरी त्यसैमा टेकेर काम गर्नु आवश्यक रहेको डा. केसीको भनाइ छ ।

डा. हरि बहादुर केसी, सहसचिव, कृषि तथा पशुपक्षी विकास मन्त्रालय

खाद्य तथा गुणस्तर विभागका पूर्वमहानिर्देशक जीवनप्रभा लामाले प्रायजसो उद्योगहरुमा नयाँ पुस्तामा पेशा हस्तान्तरण भए पनि नयाँ पुस्ताले आधुनिक प्रविधि प्रयोग गरेको नपाईएको जानकारी दिनुभयो । साथै उहाँले दीगो कृषिका लागि युवा पुस्तालाई प्रोत्साहित गर्नुपर्ने र परम्परागत शिप र शैलीलाई समयअनुसार परिवर्तन गर्न जोड दिनुभयो ।

जीवनप्रभा लामा, पूर्वमहानिर्देशक, खाद्य तथा गुणस्तर विभाग

मुना कृषि लिमिटेडका अध्यक्ष युवराज गुरुङले रैथाने बाली, रैथाने उत्पादन, रैथाने प्रविधि र रैथाने संस्कृतिको प्रबद्र्धन गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको जानकारी दिनुभयो ।

युवराज गुरुङ, अध्यक्ष, मुना कृषि लिमिटेड

मुना कृषि लिमिटेडका प्रबन्ध निर्देशक सिता पाण्डेले तीन दिने तालिममा सम्बन्धित क्षेत्रका विशेषज्ञहरुले नेपालको कृषि नीति, उत्पादन, बजारीकरण, अवसर र चुनौती लगायतका विभिन्न विषयमा सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दिने रे टेलिभिजनलाई जानकारी दिनुभयो ।

सिता पाण्डे, प्रबन्ध निर्देशक, मुना कृषि लिमिटेड

फोटो : भ्वाईस अफ काठमाण्डूका लागि रमेश हतुवाली

Facebook Comments