Mon. Dec 23rd, 2024

ग्रामथानमा १५ राजनीतिक दल र १ स्वतन्त्रले दिए उम्मेदवारी (फोटो फिचर)

महेश भट्टराई/झोराहाट,२०८१ मंसिर २ गते आइतबार । मंसिर १६ गते हुने उपनिर्वाचनमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षका लागि १६ जनाको मनोनयन दर्ता भएको छ ।

पालिकामा अध्यक्षको लागि १५ राजनीतिक दल र १ स्वतन्त्रसहित १६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी दर्ता गराउनेमा एमालेका विश्वास, नेपाली काँग्रेसबाट बलराम सरदार, माओवादी केन्द्रबाट नमोनारायण माझी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दिनेशकुमार थन्दार, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नवीनकुमार विश्वास, नेकपा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट धर्मेन्द्रकुमार चौधरी छन् । यस्तै नेपाल मजदुर किसान पार्टीबाट पर्शुराम विश्वास थारु, मंगोल नेशनल अर्गनाइजेसनबाट भरत राई, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबाट रामकुमार चौधरी, जनमत पार्टीबाट विनोदकुमार माझी, नागरिक उन्मुक्ति पार्टीबाट बुद्धिचन विश्वास, नेकपा (एकीकृत समाजवादी)बाट दिलबहादुर विश्वकर्मा र कमल थापा नेतृत्वको राप्रपा नेपालबाट राजु मुसहरले मनोनयन दर्ता गराएका छन् ।  यसैगरी  ग्रामथान ५ का नमनारायण चौधरीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

२०७९ सालको स्थानीय तह चुनावबाट ग्रामथानको अध्यक्षमा नेपाली कांग्रेसका जयप्रकाश गच्छदार निर्वाचित भएका थिए । उनको गत असार ३ गते निधन भएसँगै रिक्त रहेको अध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो ।

ग्रामथानमा विगतको परिणाम

मंसिर १६ गतेका लागि प्रदेश तथा पालिकाहरुमा रिक्त रहेको जनप्रतिनिधिहरुको पदहरुमा पदपूर्ति गर्न मिति तोकिएको छ । सोही मितिमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षको पनि निर्वाचन हुँदैछ । उपनिर्वाचनको लागि निर्वाचन आयोगले आगामी मंसिर २ गते उम्मेदवारको मनोनयन हुने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

निर्वाचन आयोगले गरेको अद्यावधिक विवरण अनुसार ग्रामथान गाउँपालिकामा मंसिर १६ गते हुने निर्वाचनमा मतदान गर्ने मतदाताको संख्या २७ हजार ४३९ जना रहेको छ । २०७९ सालको निर्वाचनमा उक्त पालिकाको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ७ हजार ६०५ मत ल्याएर विजयी हुँदा, एमालेका शिवनारायण माझी थारुले ६ हजार ९३ र माओवादीका विजयकुमार सरदारले २ हजार ७२७ मत मात्रै ल्याएका थिए । विजयी बनेका थारुको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

पालिकाको ७ वटा वडामध्ये एमालेले ५, कांग्रेसले १ र माओवादी केन्द्रले एउटा वडाध्यक्ष जितेका छन् । वडाध्यक्षको मत जोड्दा उक्त पालिकामा कांग्रेसको ५ हजार ५३७, एमालेको ६ हजार ७६३ र माओवादी केन्द्रको २ हजार ६६५ मत रहेको छ । त्यसबेला १ नम्बर वडामा स्वतन्त्र उम्मेदवार बनेका नमोनारायण माझीको मत जोड्ने हो भने माओवादीको मत ३ हजार २१९ पुग्ने देखिन्छ । २०७४ सालको निर्वाचनमा भने उक्त पालिकामा एमाले विजयी बनेको थियो । त्यसबेला एमालेका शिवनारायण माझी थारुले ४ हजार ७२० मत ल्याउँदा मधेशी जनअधिकार फोरम, नेपाल ९लोकतान्त्रिक०का जयप्रकाश गच्छदार थारुले ४ हजार ६६१ र कांग्रेसको कृष्णकुमार सरदार थारुले ३ हजार १४३ मत पाएका थिए । त्यसबेला माओवादी केन्द्रका उम्मेदवार रमेशकुमार भगतले भने १ हजार ६०२ मत मात्रै ल्याएका थिए ।

कोशी प्रदेशमा  कहाँ-कहाँ हुँदै छ उपचुनाव  ?

कोशी प्रदेशमा मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष पदका लागि निर्वाचन हुँदै छ । सो पालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको मृत्यु भएपछि खाली रहेको पदमा निर्वाचन हुन लागेको हो । गच्छदार नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा विजयी भएका थिए । यसैगरी झापाको कन्काई नगरपालिका–६ मा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदै छ । सो वडामा एमालेबाट दीर्घबहादुर थापा अध्यक्षमा निर्वाचित भएका थिए ।

यस्तै तेह्रथुमको लालीगुराँस नगरपालिका-८ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट तेजमान लिम्बू अध्यक्ष निर्वाचित भएका थिए । सुनसरीको गढी गाउँपालिका-६ मा एमालेबाट निर्वाचित वडाध्यक्ष सदानन्द उराउ झाँगरको मृत्यु भएपछि उपनिर्वाचन हुने भएको हो ।

यस्तै ओखलढुङ्गाको मोलुङ गाउँपालिका-५ वडामा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट वडाध्यक्षमा गोपीकृष्ण कार्की निर्वाचित भएका थिए । उनको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उदयपुरको त्रियुगा नगरपालिका-१२ मा कांग्रेसबाट निर्वाचित वडाध्यक्ष चुडाराज काफ्लेको निधन भएपछि उपनिर्वाचन हुँदै छ । उदयपुरकै बेलका नगरपालिका-९ मा पनि उपनिर्वाचन हुँदै छ । सो वडामा कांग्रेसबाट निर्वाचित अध्यक्ष पदमबहादुर खड्काको निधन भएको थियो ।

कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरले रिक्त भएका पदमा उपनिर्वाचनको तयारी भइरहेको जनाएको छ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नम्बर ३ मा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिम हङकङ गएपछि त्यहाँ पनि उपनिर्वाचन हुँदै छ । एक वर्षअघि हङकङ गएका बोखिमले उतैबाट राजीनामा पठाएपछि उपनिर्वाचन हुन लागेको हो । यसैगरी जिल्ला समन्वय समिति ओखलढुङ्गाको रिक्त रहेको प्रमुखका लागि समेत मङ्सिर १६ मै निर्वाचन हुँदै छ । नेपाली कांग्रेसबाट समन्वय समितिको प्रमुख निर्वाचित डिल्लीराम खनालको गत वर्ष असोजमा निधन भएको थियो ।

रिक्त रहेका पदमा हुने उपनिर्वाचनका लागि मङ्सिर २ गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ । निर्वाचन हुने स्थानीय तहहरूका लागि कात्तिक ३० मा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने निर्वाचन आयोगको तालिका रहेको छ ।

Facebook Comments