Tue. Dec 3rd, 2024

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण 

 बेरुत, लेबनान, २०८१ कात्तिक २९ गते बिहीबार । इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका रूपमा मानिएका केही भाग खाली गर्न दिएको निर्देशन पछि बिहीबार उक्त क्षेत्रमा हवाई आक्रमण गरेकोे छ ।

एएफपिटिभीले आक्रमणस्थलको तस्बिरसहित इजरायली आक्रमण र ध्वस्त संरचनालाई टेलिभिजनबाट प्रशारण गरेको छ ।

सेप्टेम्बरमा इजरायलले इरान समर्थित जिहादी समूह हिजबुल्लाहविरुद्ध आफ्नो अभियान तीव्र बनाएसँगै पछिल्लो आक्रमणपछि यस क्षेत्रमा धेरै क्षति पुगेको छ ।

आक्रमण हुनुभन्दा केही समय अघि इजरायलले उक्त क्षेत्रका बासिन्दाहरूलाई आफ्नो घर तथा वासस्थान खाली गर्न चेतावनी दिएको थियो ।

एएफपीका अनुसार सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्समार्फत जारी विज्ञप्तिमा भनिएको छ, “तपाईँहरू हिजबुल्लाहको प्रभाव क्षेत्रनजिकै अवस्थित हुनुहुन्छ भने सावधानी अपनाउनु होला । इजरायली सेनाले निकट भविष्यमा उक्त क्षेत्रमा आक्रमण गर्दैछ ।”

विज्ञप्तिमा शौइफत अल–ओमरोसिया र घोबीरी क्षेत्रका भवनहरू पहिचान गर्ने नक्सासमेत समावेश गरिएको थियो ।

Facebook Comments