Sun. Dec 22nd, 2024

‘तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक’ 

वीरगञ्ज, २०८१ कात्तिक २७ गते मंगलबार । यहाँ सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश एकीकृत प्राधिकरण’ स्थापना गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । तराई–मधेशको उत्थान र जनताको आर्थिकस्तर उकास्न उक्त प्राधिकरण स्थापना आवश्यक रहेको राप्रपाको ठहर छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा तराई–मधेशका २१ जिल्लाका जनताको उत्थान र आर्थिकस्तरमा सुदृढीकरण गर्न एकीकृत प्राधिकरण स्थापना गर्नुपर्ने निर्णय सम्मेलनले गरेको जानकारी दिनुभयो ।

‘‘मधेशको जनसङ्ख्या मुलुककै आधाभन्दा धेरै छ । तर, यहाँका जनताको आर्थिकस्तर र उत्थान हुन सकिरहेको छैन,’’ उहाँले भन्नुभयो, ‘‘पार्टीको राष्ट्रिय सम्मेलनले प्राधिकरण स्थापना गरेर जनजीविकालाई सुधार्नुपर्ने निर्णय गरेको छ ।’’

अध्यक्ष थापाले हाल तराई–मधेशको विकासका लागि नगण्य बजेट विनियोजन हुँदै आइरहेको बताउनुभयो । आगामी दिनमा जनसङ्ख्याका आधारमा बजेट विनियोजन हुनुपर्ने उहाँको धारणा छ ।

सम्मेलनले तराई मधेशको सांस्कृतिक विविधतालाई अझ विस्तार गर्न मैथिली, भोजपुरी, अवधि र थारु भाषाको संरक्षण र सम्वर्द्धका लागि मातृभाषा संरक्षण आयोग गठन गर्नुपर्ने निर्णय पनि गरेको छ । अध्यक्ष थापाले तराई–मधेश मुलुककै अन्नभण्डार भएकाले यहाँको कृषि र सिँचाइको एकीकृत योजना अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यसैगरी राप्रपा नेपालको राष्ट्रिय सम्मेलनले आगामी पुसमा सुनसरीको चतराधामदेखि त्रिवेणीधामसम्म पार्टीको जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । सम्मेलनमा दुई सय बढी पार्टी प्रतिनिधिको सहभागिता रहेको थियो ।

Facebook Comments