Sun. Dec 22nd, 2024

रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक   

कास्की,२०८१ कात्तिक २७ गते मंगलबार । ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ …’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तब्य बन्न थालेको छ । सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरकफरक रुप देखिने रुपातालको रुपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ ।

पोखरा तालैतालको शहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । फेवाताल, बेगनासताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रुपाको विशेषता अझ बेग्लै छ । “रुपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,” होटल एण्ड रेष्टुरेण्ट एशोशिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भन्न्नुहुन्छ, “छिनछिनमा तालले आफ्नो रुप फेर्छ, जसले यो ताललाई ‘रुपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।”

हरियाली पहाड, जङ्गल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उहाँको भनाइ छ । “यहाँ डुङ्गा शयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्व दिन थालेका छन् । योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ” कँडेलले भन्नुभयो ।

उहाँका अनुसार रुपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेंट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रुपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रुपाताललाई नै प्रमुख गन्तब्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् । रुपाको सुन्दरताको अवलोकन, डुङ्गा शयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । यो सँगै साइवेरियालगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब तीन सय ५० प्रजातिका चराहरु पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्व बढ्दै गएको उहाँको भनाइ छ ।

नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रुपाताल अद्भूत लागेको बताउनुभयो । “रुपाताल साँच्चै अद्भूत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो । हामीले डुङ्गामा यात्रा ग¥यौं, चरा चुरुङी देख्न पायौँ, र प्राकृतिक सौन्दर्यको मजा लियौँ । उहाँहरुले स्थानीय बासिन्दाहरूको मैत्रीपूर्ण व्यवहारले पनि बेग्लै खुशी थपिदिएको बताउनुभयो । उहाँहरुले भीडभाडबाट टाढा एकान्त र शान्त रुपातालमा नेपाल आउने सबैलाई यो स्थान घुम्न सिफारिस गर्ने बताउनुभयो ।

रुपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहनुभएका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आउनुभएका जयकुमार वर्माले पनि रुपाताल सुन्दर लागेको बताउनुभयो । “नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रुपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको शहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित ग¥यो ।” पहिलोपल्ट पोखरा घुम्न आउनु भएका वर्माले फेवाताल र वेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाउनुभयो ।

ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभई स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पु¥याउँदै आएको बताउनुहुन्छ रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी । “रुपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो”, अधिकारीले भन्नुभयो “रुपातालको माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ । सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।” सहकारीमा एक हजार ३८ जना शेयर सदस्य रहेका छन् । उहाँले आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राख्नुभयो ।
रुपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रुपातालमा वार्षिक रु एक करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब एक सयदेखि एक सय ५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन एकसय ५० केजीमा मात्र सिमित भएको छ । रुपातालमा अहिले ३५ प्रजातिका माछाहरु रहेका छन् । माछा प्रतिकेजी समयअनुसार रु चार सयदेखि १५ सयसम्ममा विक्री हुने गर्दछ । ताजा र स्वस्थ्यकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएकोे अधिकारीको भनाइ छ ।

रुपाताल एकृकित विकास परियोजनाका इन्जिनीयर कृष्ण विश्वकर्माले रुपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत परियोजनामार्फत काम गरिरहेको बताउनुभयो । “रुपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ ।” उहाँले रुपातालको संरक्षण र पूर्वाधारहरू सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पु¥याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताउनुभयो ।

परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको छ । परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्राहलय स्थापना गर्ने कार्यहरू भइरहेको छ । इन्जिनीयर विश्वकर्माका अनुसार रुपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३÷७४ मा करिब चार अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लाग्ने अनुमानसहित शुरु भएको परियोजना हो । अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ ।

ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदलमार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ । पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । आव २०८३ ÷८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिनुभयो ।

निर्माण कार्यमा हालसम्म दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ । यस परियोजनाबाट ७.९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ । ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १४ सय ७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये नौ सय ९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको उहाँको भनाइ छ ।

विसं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा एकसय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्नपश्चात यसको क्षेत्रफल एकसय ८३ पुग्ने बताइएको छ । ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् । रुपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पु¥याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ ।

पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दूरीमा अवस्थित रुपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ । जैविक विविधता र संरक्षणको दृषटिकोणले निकै महत्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुङ्गे पुल र सुन्दरी डाँडा र पचभैया जस्ता स्थलहरू पनि अहिले पर्यटकको रोजाइमा परेका छन् ।
–––

Facebook Comments