Sat. Dec 21st, 2024

कारागारबाट सुरुङ खनी फरार भएका यादव १२ वर्षपछि पक्राउ   

इनरुवा (सुनसरी), २०८१ कात्तकि २४ गते शनिबार । सुनसरीको रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । फरार भएको १२ वर्षपछि सुनसरी प्रहरीले ती व्यक्तिलाई पक्राउ गरर शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा इनरुवा-५ बलहाका विनायककुमार यादव रहेको सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिनुभयो । कर्तव्यज्यान र हातहतियार खरखजना मुद्दामा कैदा भुक्तान गरिरहेका यादवसहित १२ जना २०६९ कात्तिक २३ गते फरार भएका थिए । वि.सं. २०६५ वैशाख १६ गते विनायककुमार र श्यामकुमार यादवले प्रकाशपुर–६ का ३९ वर्षीय केशव कार्कीलाई गोली प्रहार गरी घाइते बनाएका थिए । उहाँको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।

विनायकलाई कर्तव्यज्यान तथा हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सुनसरीले २०६५ जेठ ८ गते २० वर्ष ८ महिना १४ दिन कैद फैसला गरेको थियो । यादवसहित १२ जनाको समूहले २०६९ कात्तिक २३ गते क्षेत्रीय कारागार झुम्कामा पर्खालको भित्री भगबाट सुरुङ खनी भागेका थिए । विनायकलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले गोबरगाङाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागारमा कैद भुक्तानीका लागि पठाइएकामा २०७२ वैशाख १२ गते उनी कारागारबाट भागेका थिए । विनायक लामो समयदेखि भारतको सुपौलस्थित शिवनगरग्राम पञ्चायत रानीगञ्जमा बस्दै आउनुभएको थियो ।

छठ मनाउन नेपाल आएका बेला विनायकलाई पेस्तोल एक थान र त्यसमा प्रयोग हुने ११ राउन्ड गोलीसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिनुभयो । झुम्का कारागारबाट सुरुङ खनेर फरार भएका ११ जना अझै फरार छन् । पक्राउ परेकाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

Facebook Comments