Fri. Apr 26th, 2024

विश्व बैङ्कसँग अहिलेसम्मकै ठूलो ऋण सम्झौता

काठमाडौं, २०७७ साउन ३ गते शनिबार

यातायात पूर्वाधारको क्षमता र सुधार तथा सीमापार व्यापारको दक्षता बढाउन विश्व बैङ्कले नेपाललाई उपलब्ध गराउने करिब ५४ अर्ब रुपियाँको ऋण सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ ।

विश्व बैङ्कले नेपाललाई उपलब्ध गराएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो ऋण सम्झौता हो । सम्झौतामा अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा नेपालका तर्फबाट अर्थ सचिव शिशिरकुमार ढुङ्गाना र विश्व बैङ्कका नेपालसमेत हेर्ने देशीय निर्देशक फारिस हदाद जर्भोसले हस्ताक्षर गर्नुभयो ।

उक्त ऋण सम्झौताले सीमापार बजार लगायत सडक सञ्जाल विस्तार र कोभिड-१९ पछिको आर्थिक पुनरुत्थानलाई सहयोग पुग्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताउनुभयो । नेपालको अर्थतन्त्र सुधारका लागि तथा राष्ट्रिय र क्षेत्रीय आर्थिक एकीकरणलाई तीव्रता दिन र दिगो विकासका लक्ष्य प्राप्त गर्न यातायात तथा दिगो र उच्च गुणस्तरीय पूर्वाधारको महìव रहेको उहाँले बताउनुभयो ।

अर्थ सचिव ढुङ्गानाले यस आयोजनाले मुख्य यातायात मार्ग र सीमापार बिन्दुहरूमार्फत सामान ढुवानी गर्ने समय र लागत घटाउन सहयोग पुग्ने बताउनुभयो । यस आयोजनाले क्षेत्रीय व्यापार तथा सम्पर्क सञ्जालको सहजीकरण गर्न तथा रोजगारीको अवसर सिर्जना गर्न सहयोग पुग्ने देशीय निर्देशक जर्भोसले बताउनुभयो ।

रणनीतिक सडक सञ्जाल तथा व्यापार सुधार आयोजनाबाट भारतलगायत छिमेकी मुलुकसँग सम्पर्क सञ्जाल तथा व्यापार वृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो आयोजनाअन्तर्गत नागढुङ्गा-नौबिसे-मुग्लिङ खण्ड सुधार गर्नुका साथै कमला-ढल्केबर-पथलैया सडकको स्तरोन्नति गर्दै चार लेनको बनाइने छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments