Sat. Oct 26th, 2024

चौथो रानीवन गोल्ड कपको उपाधि सिम ब्वाइजलाई   

सिमकोट (हुम्ला), २०८१ कात्तिक १० गते शनिबार । चौथो रानीवन गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि सिम ब्वाइज क्लबले हात पारेको छ । यही कात्तिक २ गतेदेखि सिमकोट तल्लो बजारमा सञ्चालन भएको खेलमैदानमा १५ वटा टोलीको सहभागी रहेको थियो । शुक्रबार भएको फाइनल खेलमा सिमकोट तल्लो गाउँ राइजिङ क्लबमाथि जित हासिल गर्दै सिम ब्वाइजले प्रतियोगिताको विजेता बनेको हो ।

प्रतियोगितामा सिम ब्याइज क्लब निर्धारित समयमा बराबरी गोल भएपछि खेल ‘ट्राइबेकर’ गएको थियो । दुईका विरुद्ध तीन गोल गरेर सिम ब्वाइज विजेता भएको हो । विजेता र उपविजेता टोलीलाई क्रमशः रु ५० हजार र ३० हजार नगद पुरस्कार प्रदान गरिएको हो ।

त्यसैगरी, विजेता सिम ब्वाइजलाई ट्रफी पनि प्रदान गरिएको थियो । विजेता र उपविजेता सबै खेलाडीलाई मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडी सिम ब्वाइजका जीवन रावतलाई ‘बुट’ प्रदान गरिएको थियो भने सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहका तर्फबाट खेल अवधिभर गरेका आठवटा गोलको प्रतिगोल रु पाँच सयका दरले चार हजार नगद पनि प्रदान गरिएको थियो ।

उत्कृष्ट खेलाडी सिम ब्वाइजकै विशाल सिंह पनि पुरस्कृत भएका छन् । उत्कृष्ट गोल किपरमा सिम ब्वाइजकै छिरिङ लामा रहेका रहेका थिए । यो पुरस्कार सिमकोट गाउँपालिका उपाध्यक्ष सुशीला रोकाया, जिल्ला खेलकुद समितिका अध्यक्ष विनोद बोहरा, पत्रकार महासङ्घका अध्यक्ष राजन रावतले वितरण गर्नुभएको थियो ।

Facebook Comments