Fri. Apr 26th, 2024

पुरातत्त्वकाे टोली नेपालको अयोध्यापुरी पुग्यो, शुक्रबारबाट काम थाल्ने

काठमाडौं, २०७७ साउन १ गते बिहीबार

चितवनको माडी अयोध्यापुरीमा पुरातत्त्व विभागले अनुसन्धान गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागको टोलीले अनुसन्धान गर्न चासो देखाएको हो । पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी क्षेत्रमा नै सयौँ वर्ष पुराना भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले बताएका छन् ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले अयोध्यापुरी क्षेत्रको अनुसन्धान गर्न पुरातत्त्व विभागको टोलीले शुक्रबारबाट काम थाल्ने जानकारी दिनुभयो । टोली बिहीबार चितवन आइपुगेको र शुक्रबारबाट सम्भावित क्षेत्रको अनुसन्धानमा लाग्ने जानकारी पाएको बताउनुभयो ।

‘रामको जन्म माडी क्षेत्रमा हुन सक्ने प्रमाणहरू छन्’ उहाँले भन्नुभयो । नगरपालिकाको वडा नं. १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान, लवकुश खेल्ने स्थान, त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालले बताउनुभयो ।

अयोध्यापुरीमा पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायतले केही वस्तु भएको देखाउने यहाँका स्थानीय श्रीप्रसाद दवाडीले जानकारी दिनुभयो । विषय चर्चामा आएकाले वास्तविक अवस्था के हो भन्नका लागि अनुसन्धान आवश्यक छ उहाँले भन्नुभयो ।

यसैबीच माडी नगरपालिकाका प्रमुखले संस्कृतमा आचार्य गरेकाहरूसँग बिहीबार छलफल गर्नुभएको छ । संस्कृतका विज्ञ, धार्मिक विषयमा ज्ञान भएकाहरूसँगको छलफलले भारतमा भएको आयोध्या पनि विवादमा रहेकाले त्यसैलाई आधिकारिक मान्न नसक्ने बताएको प्रमुख ढकालले बताउनुभयो । अयोध्यापुरीको विषयमा जानकारी लिन आउनेहरूलाई सही सूचना दिनको लागि तत्कालीन गाविस अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा समिति गठन भएको छ । माडी नगरपालिकाको वडा नं.८ मा पर्ने आयोध्यापुरी क्षेत्रमा हेर्नको लागि जिल्लाबाहिरबाट पनि आउन थालेको नगरपालिकाले जानकारी दिएको छ । गोरखापत्र अनलाईनबाट

Facebook Comments