Fri. Nov 22nd, 2024

फिलिपिन्समा उष्णकटिबन्धीय आँधी ‘ट्रामी’का कारण ४६ जनाको मृत्यु, २० जना बेपत्ता

मनिला, २०८१ कात्तिक ९ गते शुक्रबार । यस हप्ता फिलिपिन्समा आएको उष्णकटिबन्धीय आँधी ‘ट्रामी’बाट मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको छ भने कम्तिमा २० जना अझै बेपत्ता रहेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

नागरिक रक्षा प्रशासकको कार्यालय ‘एरियल नेपोमुसेनो’ले एउटा प्रतिवेदनमार्फत देशभरका नौ क्षेत्रबाट ट्रामीसँग सम्बन्धित मृत्युको खबर आएको जनाएको छ ।

सिन्ह्वाका अनुसार आँधीको प्रभाव झेल्ने मनिलाको दक्षिणपूर्वी क्षेत्र बिकोलमा २८ जनाको मृत्यु भएको र क्यालाबारजोन क्षेत्रमा १५ जनाको मृत्यु भएको जनाएको छ । मध्य र दक्षिणी फिलिपिन्सका अन्य क्षेत्रबाट पनि ट्रामी–सम्बन्धित मृत्युको खबर प्राप्त भएको छ ।

यस वर्ष फिलिपिन्समा आएको ११औँ टाइफुन ट्रामीले मुख्य लुजन टापुमा प्रहार गरी बिकोल र क्यालाबारजोन क्षेत्रमा विनाशकारी बाढी र पहिरो निम्त्याएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले दक्षिणपूर्वी एसियाली देशको कम्तिमा १५  क्षेत्रका २६ लाखभन्दा बढी मानिस आँधीबाट प्रभावित भएको बताएको छ ।

राज्य मौसम ब्युरोले शुक्रबार दिउँसो वा साँझमा ट्रामी फिलिपिन्सबाट बाहिर निस्कने पूर्वानुमान गरेको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा टाइफुन आउने गरेको छ ।

Facebook Comments