Thu. Oct 24th, 2024

भुटान साफ च्यम्पियन्सिपको सेमिफाइनल प्रवेश   

काठमाण्डू, २०८१ कात्तिक ८ गते बिहीबार । भुटान साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा माल्दिभ्सलाई १३–० ले गोलअन्तरले पराजित गर्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो ।

भुटानको जितमा देकी लाजोमले पाँच, कप्तान पेमा छोदेन छिरिङ र छिरिङ याङ्देले दुई दुई तथा सोनाम छोदेन, नाम्ग्याल देमा, देकी याङदोन, छिरिङ लाङ्देनले एक एक गोल गरे । देकीले खेलको १५औँ, १९औँ, ४६औँ, ५२ औँ र ७०औँ मिनेटमा गोल गरिन् । यसैगरी पेमाले खेलको ७औँ र १७औँ, छिरिङले ६५औँ र ८०औँ, सोनामले खेलको ५औँ, नाम्ग्यालले ४१औँ, देकीले ४७ औँ तथा छिरिङ लाङ्देनले ६८औँ मिनेटमा गोल थपे ।

पहिलो खेलमा नेपालसँग गोलरहित बराबरीमा रोकिएको भुटानले लगातार जित निकाल्दै सात अङ्क जोड्दै अङ्क तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । भुटानले श्रीलङ्कालाई ४–१ ले हराएको थियो ।

अन्तिम खेल खेल्न बाँकी रहेको नेपालसँग चार अङ्क छ । श्रीलङ्काको दुई खेलमा तीन अङ्क छ । नेपालले आज साँझ नै श्रीलङ्कासँग खेल्ने छ ।

Facebook Comments